संगालोखबर

विराटनगर । मोरङको कटहरी–१ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्री जिरो क्लब’ प्रवर्द्धन गरेबापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

Advertisement

फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरुमध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो । यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेका थिए ।

बङ्गलादेशबाट सुरु भएको थ्री जिरो क्लब सञ्जाल ५६ देशमा फैलिएको छ । विश्वभर थ्री जिरो क्लबको संख्या ३ हजार ८ सय बढी छन् । तीमध्ये सबैभन्दा धेरै नेपालमा २ हजार पाँच सय थ्री जिरो क्लब छन् । नेपालमा रहेकामध्ये आधाभन्दा बढी १ हजार ४१८ वटा थ्री जिरो क्लब जीवन विकास लघुवित्त वित्तीय संस्थाले गठन गरेको हो । सन् २०२१ डिसेम्बर ११ बाट जीवन विकासले थ्री जिरो क्लब गठन सुरु गरेको थियो ।

जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् । थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए ।

अवार्ड ग्रहणका लागि संस्थाको तर्फबाट जीवन विकास लघुवित्त वित्तीय संस्थाका सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदार रेग्मी उपस्थित भएका थिए । अन्तर्राष्ट्रिय थ्री जिरो सपोर्ट अर्गनाइजेशन अवार्ड ग्रहणका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले क्लब सपोर्ट बापत जीवन विकासले तेस्रो पटक पुरस्कार प्राप्त गरेको बताए ।

अर्काे सम्मेलनमा पनि अवार्ड पाउनेगरी जीवन विकासले काम गर्ने उनले बताए । कन्भेन्सनमा क्लब सपोर्ट तर्फ जीवन विकासले अवार्ड प्राप्त गर्दा मेक्सीकोका सहभागीले क्लब सपोर्ट पर्सन अवार्ड र उत्कृष्ट क्लबको अवार्ड मलेसियाको क्लबले प्राप्त गरेको थियो ।

पुरस्कार ग्रहण गर्दै जीवन विकासका प्रमुख कार्यकारी अधिकृत मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए । ‘जीवन विकासले अवार्ड प्राप्त गर्नु हाम्रा लागि मात्रै होइन नेपालका लागि पनि गौरवको कुरा हो,’ उनले भने, ‘यो अवार्डले फिल्डमा काम गर्नका लागि ऊर्जा मिलेको छ ।’

थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् । एउटा क्लबमा पाँचजना सदस्य हुन्छन् । यसरी गठन भएको क्लब सामाजिक कार्यमा खटिन्छन् । जीवन विकासले गर्ने सामाजिक कार्यलाई प्रभावकारी बनाउन थ्री जिरो क्लबसँग सहकार्य गरिरहेको छ ।

‘थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुन्छ, समाजले अपनत्व ग्रहण गर्छ, युवालाई अघि बढाउँदा धेरै सिक्न पाउँछन्, नेतृत्व विकास पनि हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत मण्डल भन्छन्, ‘हामीले क्लब मार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौं । हाम्रा हरेक कार्यमा थ्री जिरो क्लबका युवाहरू जोडिएका छन् ।’ जीवन विकासले गत बैशाख ५ गते नेपालमा पहिलो पटक थ्री जिरो सदस्य सम्मेलन आयोजना गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!