संगालोखबर
फाइल तस्वीर

धनकुटा । धनकुटासहित कोशी प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घण्टामा भएका सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । शनिबार भएका बेग्लाबेग्लै १५ वटा दुर्घटनामामध्ये सबैभन्दा बढी झापामा भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामलगायत जिल्लामा दुर्घटना भएका छन् । धनकुटाको पाख्रीबास नगरपालिका–३ मा भोजपुरतर्फ जाँदै गरेको सघन सहरी तथा भवन निर्माण कार्यालय धनकुटाको प्रदेश नम्बर ३–०२–००१ ब ००३८ नम्बरको मोटरसाइकल दुर्घटनामा एकजना घाइते भएका छन् ।

Advertisement

मोटरसाइकल चालक उक्त कार्यालयमा कार्यरत् इन्जिनियर विराटनगर महानगरपालिका–१० का ३२ वर्षीय बिप्लव खत्री घाइते भएको प्रहरीले जनाएको छ । उनलाई धनकुटा जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित नोवेल अस्पताल पठाइएको छ । यस्तै, मोरङको बुढीगंगामा को २९ प २७८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका–५ का ३० वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् । उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।

झापाको झापा गाउँपालिका–४ मा को ९ प ५६१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय अक्मान अलिकी छोरी ४ वर्षीया अफिया खातुन घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झापाकै कचनकबल गाउँपालिका–३ मा मे ७ प ५५२४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ३ वर्षीया भीमा राजवंशी घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यस्तै, उदयपुर त्रिनपा–८ मा स १ ह २८१२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक १८ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् । अटोमा रहेकी ९ वर्षीया दिपिक्षा परियार पनि घाइते भएको प्रहरीले जनाएको छ । उदयपुरकै बेलका नगरपालिका–३ मा को १ ज २७७५ नम्बरको पिकअप गाडीले स–१ ह–१२५५ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा स्थानीय ५५ वर्षीय खगेन्द्र राई, तारा राई, गीता नेपाली, दिक्षा नेपाली मैना भुजेल, बिपन आलेमगर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

झापाको केर्खामा मे १० प २५७७ नम्बर र प्र–१–०२–०४१ प ८९०१ नम्बरको मोटरसाइकल ठोक्किँदा ताप्लेजुङको फुङलिङका ६५ वर्षीय मणिकुमार सुब्बा, इटहरी–१७ निवासी सशस्त्र प्रहरी बल ३८ नं. शिक्षालय पाथीभरा गण पाडाजुँगीमा कार्यरत ४५ वर्षीय प्रहरी नायब निरीक्षक भोजबहादुर खत्री घाइते भएका छन् ।

यसैगरी, इलाममा भएको दुर्घटनामा एकजना, झापाको दमकमा भएको दुर्घटनामा एकजना साइकलयात्री तथा अर्का युवक घाइते भएका छन् । सुनसरीको हलगडामा भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मेचीनगरमा सिटी सफारीले ठक्कर दिंदा दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ भने मेचीनगर नगरपालिका–१३ मा मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री चार वर्षीय बालक घाइते भएका छन् । ट्याक्टरले स्कुटीलाई ठक्कर दिंदा झापाको शिवसताक्षीमा एकजना घाइते भएका छन् । यस्तै, मोरङको विराटनगरमा को ११ प ६८२५ नम्बरको मोटरसाइकल कुकुरलाई बचाउन खोज्दा अनियन्त्रित भइ दुर्घटना हुँदा चालक उज्वल माझी घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!