संगालोखबर

विराटनगर । असार १५ का अवसरमा विराटनगर महानगरपालिका वडा नम्बर १५ को सहयोगमा वडाभित्रका ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाएर सम्मान गरिएको छ ।

Advertisement

ज्येष्ठ नागरिक वडा कार्य समिति र ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध सदस्य र वडाभित्रका अन्य ज्येष्ठ नागरिकको सम्मानस्वरुप दही चिउरा खुवाएर शुभकामना आदानप्रदान गरिएको आयोजकले जनाएको छ । असार १५ लाई विशेष बनाउन ज्येष्ठ नागरिकलाई दही चिउरा खुवाइएको आयोजक समितिका इन्द्र खतिवडाले जानकारी दिए ।

समाजसेवी एवं पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाल, मेजर मानबहादुर राई, वडासदस्य कृष्ण भट्टराई, ज्येष्ठ नागरिक सेवा समितिका कोषाध्यक्ष भरत कार्कीलगायतले ज्येष्ठ नागरिकको सम्मान गर्नु प्रशंसनीय काम भएको बताएका थिए ।

यसैबीच, वडा नम्बर ११ मा अवस्थित ज्येष्ठ नागरिक सेवा भवनका लागि समाजसेवी चिरञ्जीवी दाहाल, पदम श्रेष्ठ र मेजर मानबहादुर राईले वातानुकूलित उपकरण (एसी) जडान गरिदिने प्रतिबद्धता जनाएका छन् ।

गर्मीका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्दै उहाँहरुले एक हप्ताभित्र भवनको सभाहलमा चार वटा एसी जडान गरिदिने प्रतिबद्धता जनाएका हुन् । भवनमा प्रत्येक दिन बिहान ५ देखि ६ बजेसम्म योगाभ्यास, दिउँसो भजनकीर्तन सहितका गतिविधि हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!