संगालोखबर

विराटनगर । पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आदर्शवादी नेता स्वर्गीय मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । उनकै नाममा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयमा आज आयोजित कार्यक्रममा स्मरण गरिएको हो ।

Advertisement

मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित विश्वविद्यालयले मनमोहनको १०४औँ जन्मजयन्तीको अवसरमा स्मृति सभा आयोजना गरेको हो । त्यस अवसरमा सहभागी वक्ताहरुले अधिकारी सदाचारी नेता भएको उल्लेख गर्दै शिक्षा र समाजिक क्षेत्रमा उनले गरेको योगदानको चर्चा गरे ।

विश्वविद्यालयका उपकुलपति डा. सुवाश्री पोखरेल, कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्ट्रार डा. दिलनाथ फुँयाल, डिन प्राडा प्रचण्डमान प्रधान, कानुनी सल्लाहकार कोषराज न्यौपानेलगायतले मनमोहनको सालिकमा माल्यार्पण गरेका थिए ।

उनीहरुले प्राविधिक शिक्षामा अधिकारीको योगदान अनुकरणीय रहेको चर्चा गरे । नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिँदै आएका अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता अहिले पनि उत्तिकै सान्दर्भिक भएको उनीहरुको भनाइ थियो ।

अधिकारीको जन्म १९७५ असार १५ गते काठमाडौंको लाजिम्पाटमा भएको थियो । २००३ सालमा विराटनगरमा भएको मजदुर हडतालको नेतृत्वकर्तामध्येका एक उनले लामो राजनीतिक संघर्षको क्रममा १७ वर्ष जेल जीवन बिताएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।

नेता मनमोहनकै सम्मानमा भारत सरकारको सहयोगमा मनमोहन स्मृति प्रतिष्ठान स्थापना भएको थियो । त्यसलाई मनमोहन प्राविधिक शिक्षालयका रुपमा सञ्चालन गरिँदै आएको थियो । कोशी प्रदेश सरकारले देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रुपमा रुपान्तरण गरेको थियो । उक्त विश्वविद्यालयमा स्कुल अझ इन्जिनियरिङ, स्कुल अफ मेडिकल र स्कुल अफ एप्लाइड हेल्ड लगायतका विभाग छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!