संगालोखबर

सुनसरी । इटहरीस्थित पाथीभरा माध्यमिक विद्यालय २०८० को माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । इटहरी उपमहानगरपालिका–४ भेटघाट चोकस्थित उक्त विद्यालयका ३२ जना विद्यार्थीले परीक्षा दिएकामा पाँच जनाले ३.८० देखि ४ जीपीए हासिल गरेका छन् ।

Advertisement

यसैगरी, १५ जना विद्यार्थी ३.६० देखि ३.७९ जीपीए सहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये आठ जनाले ३.५० देखि ३.५९ जीपीए ल्याएका छन् भने तीन जनाले ३.३८ देखि ३.४९ जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल डा. गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

एकजना विद्यार्थीको भने ‘एब्सेन्ट’ (अनुपस्थित) उल्लेख भएको जनाइएको छ । ती विद्यार्थी पनि परीक्षामा सहभागी भएको तर कुनै प्राविधिक कारणवश त्यस्तो हुन गएको भन्दै विद्यालयले त्यसका लागि परीक्षा बोर्डमा पहल गर्ने जनाएको छ ।

विद्यालयका बोर्ड अफ डाइरेक्टर रोमन कटेलका अनुसार २०४८ मा स्थापित विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिकका साथै व्यावहारिक रुपमा पनि पोख्त बनाउन प्रभावकारी शिक्षण सिकाईको विधि अपनाउने गरेको छ । त्यही भएर परीक्षाका नतिजाहरु उत्कृष्ट आउने गरेको उनको भनाइ छ ।

विद्यार्थीहरुको सीप विकासका साथै प्रविधिबारे जानकार एवं सुसंस्कृत बनाउने उद्देश्य राखेको विद्यालयले आफ्नो नारा नै ‘एजुकेशन विथ स्किल, टेक्नोलोजी एण्ड कल्चर’ राखेको छ । विद्यालयले विभिन्न कक्षाका विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने उद्देश्यले समय समयमा स्थलगत अध्ययन भ्रमण गराउनेदेखि खेलकुदलगायत प्रतियोगिताहरुमा पनि सहभागी गराउँदै आएको छ । विभिन्न प्रतियोगिताहरुका उक्त विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

विगत वर्षको तुलनामा यसपालिको नतिजा सबैभन्दा उत्कृष्ट रहेको विद्यालयका अध्यक्ष निर्मलकुमार रिजालले बताए । राम्रो नतिजा ल्याउनका लागि मेहनत गर्ने विद्यार्थीहरुका साथै शिक्षकलगायत सम्पूर्ण विद्यालय परिवारलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले दुई दिनअघि सार्वजनिक गरेको नतिजाअनुसार देशभरबाट परीक्षा दिएकामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा उत्तीर्ण भएकामध्ये ४ जीपीए ल्याउनेको संख्या १८६ रहेको छ । कोशी प्रदेशबाट सहभागी ७५ हजार ९८८ जना परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!