मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगरको खानेपानी वितरण प्रणाली सुधारका लागि जापान सरकारले सहयोग गरेको छ । नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने खानेपानी सुधार आयोजनाका लागि जापान सरकारले अनुदान सहयोग गरेको हो । २ अर्ब ५४ करोड जापानी येन लागत रहेको आयोजनाको संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले आज शिलान्यास गरे । देशकै खानेपानीको समस्या समाधानका लागि काम गरिरहेको बताउँदै मन्त्री राईले यो परियोजना सम्पन्न भएपछि विराटनगरबासीलाई ठूलो राहत पुग्ने बताए ।

Advertisement

उनले भने, ‘शुद्ध खानेपानी पुर्याउने उद्देश्यका साथ जापान सरकारले अनुदान सहयोग गरेको छ । यसको समयमा नै निर्माण सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न आवश्यक छ ।’ पोखरामा पनि जापान सरकारको सहयोगमा खानेपानी सुधारको काम सम्पन्न भएको मन्त्री राईले उल्लेख गरे । उनले देशकै खानेपानी सुधारका लागि तीनै तहको सरकार मिलेर काम गरिरहेको उल्लेख गरे । आयोजना सम्पन्न हुँदा विराटनगरबासीले स्वच्छ खानेपानी पाउने भन्दै उपमेयर शिल्पा निराला कार्कीले खुसी व्यक्त गरिन् । जनताको प्रमुख आवश्यकता स्वच्छ खानेपानी भएकाले यसलाई समयमा नै सम्पन्न गर्न सबै लाग्नुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘यो आयोजनाका लागि महानगरपालिकाले हरेक क्षण सहयोग गर्नेछ । तोकिएको समयमा नै काम सकिन्छ भन्ने विश्वास लिएका छौँ ।’ महानगरको चाहना १९ वटै वडामा स्वच्छ खानेपानी पुर्याउने रहेको उनले उल्लेख गरिन् । विराटनगरमा अहिले प्रत्येक दिन १ करोड लिटरभन्दा बढी पानीको माग भएको र यो परियोजना सम्पन्न भएपश्चात् सहज हुने विश्वास व्यक्त गरिन् ।

विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले यो परियोजनाले विराटनगरको खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, ‘ढिलै भएपनि काम सुरु हुने तरखरमा छ । विराटनगरबासीले स्वच्छ खानेपानी पिउन पाउने आश पलाएको छ ।’ आयोजनालाई उद्घाटनको अवस्थामा पुर्याउन विराटनगरबासीले सहयोग गर्ने उनले बताए । उनले भने, ‘शिलान्यास मात्र ठूलो कुरो हैन । काम पनि समयमा नै सम्पन्न गर्न आवश्यक छ । विराटनगरबासीले यसमा सहयोग गर्नेछौँ ।’

सहज रूपमा खानेपानी वितरण नभइरहेको अवस्थामा यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । यो आयोजनाले विराटनगरको खानेपानीको क्षेत्रमा उल्लेख्य सुधार ल्याउने विश्वास लिइएको उनले बताए । उनले भने, ‘यो आयोजनाले जनस्वास्थ्यको रक्षा हुनेछ । सुरक्षित, स्वच्छ खानेपानीबाट नगरवासी लाभान्वित हुनेछन् ।’

यी काम हुनेछन्

सुधार आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम हुनेछ । खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाका अनुसार पुराना पाइप हटाएर नयाँ पाइपलाइन विस्तार गरिने छ । यस्तै ‘ओभरहेड’ ट्याङ्की दुईवटा निर्माण हुने उनले बताए । थापाले संगालोखबरसँग भने, ‘विराटनगर १ देखि १६ नम्बर वडासम्म तत्कालका लागि काम हुन्छ । प्रेसर फिल्टर र प्रशोधन केन्द्र बन्नेछ ।’

विराटनगरमा अहिले भने जमिनमुनिबाट सिधै पानी तानेर फिल्टर नगरी वितरण भइरहेको छ । आयोजना सम्पन्न भएपछि १ लाख विराटनगरबासी लाभान्वित हुने लक्ष्य राखिएको छ । यस आयोजनाको अध्ययन २०१९ बाट सुरु भएको थियो भने अनुदान सम्झौता २०२२ मार्च १० मा भएको थियो । ठेक्का सम्झौता २०२४ अप्रिल २६ मा भएको थियो । निर्माणको जिम्मा सिमिजु कर्पोरेशनले पाएको आयोजनाको काम २०२६ मे ३१ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!