संगालोखबर

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । स्थानीय प्रशासनले कोशी नदीमा डुंगा चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध गरेको छ ।

Advertisement

पूर्वी पहाडी जिल्ला तथा सुनसरी, उदयपुर, सप्तरीमा पनि निरन्तर वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहिवार कोशी नदीमा पानीको बहाव एक लाख ३४ हजार क्युसेक मापन गरिएको थियो । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएको थियो ।

पानीको बहाव बढेसँगै कोशी नदीमा नजान प्रशासनले स्थानीय बासिन्दालाई सूचित गरेको छ । सामान्यभन्दा नदीमा जलस्तर निकै बढेपछि जोखिम हुने कुरालाई ध्यान दिंदै निगरानी भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको भनाइ छ ।

यसैगरी, पानीको सतह बढेपछि सम्भावित क्षति हुन नदिन आसपासका बस्तीहरूमा माइकिङ गरी स्थानीय बासिन्दालाई सावधानी अपनाउन जानकारी दिइएको प्रहरीले जनाएको छ ।

पानी परेको अवस्थामा घरबाट बाहिर ननिस्कन र नदी छेउ नजान आग्रह गरिएको छ । यसैगरी, सशस्त्र प्रहरीले पनि सप्तकोशीको बाढीबाट हुने सम्भावित घटना न्यूनीकरणका लागि ३८ जनाको गोताखोर सहितको उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

२०६५ भदौ २ गते राति सप्तकोशीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीका मधुवन, लौकहरी हरिपुर र श्रीपुरका हजारौं विघा खेतीयोग्य जमिन पुरिएको थियो । दर्जनौं घर बाढीमा बगेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!