संगालोखबर

विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् ।

त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्याएको खुलेको उनले बताए ।

चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् । चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ ।

त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरीपछि ११ असारमा सुन्दरी राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न व्यूरोले ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!