संगालोखबर


विराटनगर । निरन्तर वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका कम्तीमा ३६ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्र पुगेर स्थलगत अनुगमन गर्ने काम जारी रहेकाले प्रभावित परिवारको यकिन संख्या संकलन भइनसकेको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट दर्जनौं परिवार प्रभावित भएको अनुमान गरिएको छ ।

सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–८ का १० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबासका लागि सारिएको छ ।

Advertisement

यसैगरी, विराटनगर–१९ सरदार टोलका १० परिवार विस्थापित भएका छन् । भल पसेर घर डुबानमा परेपछि उनीहरु विस्थापित भएका हुन् । विस्थापित परिवारलाई स्थानीय शिवजी आधारभूत विद्यालयमा राखिएको छ ।

यस्तै, बुढीगंगा गाउँपालिका–१ शान्ति चोक र गैरीटोलका गरी १६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारहरु छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् ।

यसैगरी, केसलिया खोला बस्तीमा पस्दा त्यस क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्थापितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । कति परिवार विस्थापित भए भन्ने यकिन विवरण आइसकेको छैन ।

गएरातिदेखि आज मध्याह्नसम्म भएको निरन्तर वर्षाका कारण विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । मुख्य बजार आसपासका क्षेत्रमा रहेका बस्ती डुबानमा परेका छन् ।

पानीको उचित निकास नहुँदा विराटनगरका अधिकांश वडा जलमग्न बनेका छन् । वर्षाका कारण विद्यार्थीहरुलाई आउजाउ गर्न समस्या हुने भएपछि आज एक दिनका लागि विराटनगरका विद्यालयहरु बन्द गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!