ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा पहिरोले गएराति घर बगाउँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शिंखुगढी गाउँपालिका–५ मा झरेको पहिरोले घर बगाउँदा स्थानीय ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्काले संगालोखबरलाई दिएको जानकारी अनुसार मृतकका श्रीमान् बाबुराम खत्री र छोरी मेनुका खत्री पहिरोमा परी घाइते भएका छन् ।
पहिरोमा स्थानीय बासिन्दाका चौपाया पनि परेको जनाइएको छ । केही चौपायाको उद्धार गरिएको छ भने केही पुरिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । जिल्लाका अधिकांश स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
घटनाबारे जानकारी आएपछि स्थानीय प्रहरी चौकीबाट उद्धारका लागि टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि घटनास्थलतर्फ थप टोली पठाइएको डीएसपी खड्काले जानकारी दिए ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ । प्रहरीका अनुसार पीडितहरुको घर पहिरोसँगै बगेर करिब दुई सय मिटर तल पुगेको छ ।