मोहन ढकाल/संगालोखबर


विराटनगर । सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा ठाउँअनुसार आ–आफ्नै संस्कृति छन् । त्यही मध्येको एउटा संस्कृति हो ‘जाट जटिन’ लोक नाटक । यो तराईका जिल्ला, अझ भन्ने हो भने मिथिला क्षेत्रका समुदायले मनाउने विशेष संस्कृतिमा पर्दछ । यसले धेरै कुराहरूलाई जोडेको पाइन्छ । इन्द्र भगवानलाई खुसी पार्न मनाइने सांस्कृतिक कार्यक्रमका रूपमा ‘जाट जटिन’ चर्चित छ ।

परम्पराकालदेखि चल्दै आएको यो संस्कृति पछिल्लो समय भने लोप हुने अवस्थामा पुगेको यसका जानकारहरू बताउँछन् । मिथिला समुदायमा ‘जाट जटिन’ लाई परिवारदेखि समाजसम्म जोड्ने कडीका रूपमा लिइएको पाइन्छ ।

Advertisement

भाषा–संस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा नेपाल कुसवाहा कल्याण समाजका केन्द्रीय महासचिव जयप्रकाश महतो पछिल्लो समय यो संस्कृति विस्तारै लोप हुँदै गएको बताउँछन् । ‘यो एउटा सांस्कृतिक कार्यक्रम हो’, महतो भन्छन्, ‘जाटले पुरुषलाई र जटिनले महिलालाई प्रतिनिधित्व गर्छ ।’ महिलाहरू भेला भएर मनाउने यो ऐतिहासिक सांस्कृतिक कार्यक्रम भएको उनको भनाइ छ । उनी थप्छन्, ‘महिलाहरूले रातिको खाना खाएर बालबच्चा सुताइसकेपछि, गाउँका मानिसहरू सुतिसकेपछि, समूहमा भेला हुन्छन् । केही महिलाले पुरुषको प्रतिनिधित्व गर्छन् । अनि गाउँ–समाजमा रहेका बेतिथिहरूलाई गीत, कविता र नाटकका माध्यमबाट प्रस्तुत गर्छन् ।’

पतिपत्नीबीच भएको विवादलाई कसरी समाधान गर्ने भन्ने कुरा गीतको माध्यमबाट प्रस्तुत गर्ने गरिएको उनले बताए । उनी भन्छन्, ‘पति पत्नीबीच विवाद हुँदा या परिवारका अन्य सदस्यबीच विवाद हुँदा पत्नी माइती जाने र पति लिन जाँदा माइतीमा हुने संवादलाई महिलाहरूले गीतमार्फत् संवाद प्रस्तुत गर्छन् । अनि पतिले पत्नीलाई लिएर आउँदा बाटोमा हुने संवादलाई पनि महिलाहरूले गीतमार्फत् राख्छन् । त्यस्ता गीतहरू भावपूर्ण र अर्थपूर्ण हुन्छन् ।’

ती गीतहरूले सकारात्मक समाज र घरपरिवार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । यो संस्कृतिले एकअर्कालाई जोडेर राख्ने भएकाले जीवन्त संस्कृति भएको उनी सुनाउँछन् ।  यसको महत्व यतिमा मात्रै सीमित हुँदैन । अझ अर्को महत्वपूर्ण कुरा त भगवान इन्द्रलाई खुसी पार्नु पनि हो । खासमा यो वर्षायाममा मनाउने संस्कृति हो । खेती गर्ने समयमा पानी आवश्यक हुने र भगवान इन्द्रलाई खुसी पार्न सके समयमै पानी पर्ने विश्वास गर्दै यो संस्कृति मनाइन्छ ।

उनी भन्छन्, ‘यसको ठूलो महत्व छ । भगवान इन्द्र खुसी भएनन् भने पानी पर्दैन भन्ने मान्यता छ । पानी नपरेपछि अन्न फल्दैन । अन्न नभएपछि मान्छे भोकभोकै हुन्छ । त्यसैले भगवान इन्द्रलाई खुसी पार्न पनि यो संस्कृति मनाउने गरिन्छ ।’ भगवान इन्द्र खुसी हुन्छन् र पानी पर्छ भन्ने मान्यताका साथ महिलाहरूले परीको रूपमा नाचगान गर्ने चलन रहेको उनी सुनाउँछन् । यो संस्कृतिलाई सृष्टि कर्ताको रूपमा लिन सकिने उनले बताए ।

विशेषगरी यो संस्कृति तराईका कुसवाहा, थारु, ऋषिदेव, यादव, पाल, गडेरी, राजवंशी, पासवानलगायतका जातिहरूले मनाउने गर्छन् । वर्षायाममा मनाइने यो संस्कृति जगेर्ना गर्न आवश्यक रहेको जानकारहरू बताउँछन् । विराटनगर नारी उथान समाजले संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ पहिलोपटक कार्यक्रम आयोजना गरेको समाजकी अध्यक्ष चम्पा पाल गडेरीले बताइन् । शनिबार सामाजिक विकास मन्त्रालय कोशी प्रदेको सहयोगमा विराटनगरमा कार्यक्रम गरिएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘लोप हुन लागेको जाट जटिन संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले सुरुवात गरेका छौँ । यसलाई निरन्तरता दिने छौँ ।’ लोप हुन लागेको संस्कृतिलाई नारी उथान समाजले जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय सूर्य नारायण मेहताले बताए । उनले भने, ‘पछिल्लो समय नेपाली चलचित्रमा पनि यस्ता संस्कृतिलाई समावेश गर्न थालेको छ । यस्ता संस्कृति जगेर्ना गर्न आवश्यक छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!