सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । परम्परागत पेशा संरक्षणमा राज्यले ध्यान दिन नसकेको धनकुटाको दलित समुदायका अगुवाहरुले गुनासो गरेका छन् । परम्परागत पेशा संरक्षणमा ध्यान नदिंदा कतिपय स्थानीय उद्योगकरु प्रभावित भएको पनि उनीहरुले बताए ।

Advertisement

दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् । दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवं दलित सवाल विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटाका अगुवाहरुले तीनै तहका सरकारले यसतर्फ ध्यान नदिएको गुनासो गरेका थिए ।

सीप, कला र संस्कृतिमा धनी भएपनि राज्यको मूलधारबाट पाखा पारिएको उनीहरुको भनाइ छ । दलित समुदायका परम्परागत पेशा संरक्षणमा राज्यले ध्यान नदिएकैले कतिपय स्थानीय उद्योग बन्द भएको दलित समुदायका अगुवा गोपाल बराइलीले बताए ।

दलित समुदायका पुख्र्याैली पेशा संकटमा पर्दा कम आयस्रोत भएका नेपालीलाई थप समस्या पर्ने भएकाले परम्परागत पेशाको विशेष संरक्षण गर्नुपर्ने दलित एकता समाजका अध्यक्ष कोपिला शंकरले बताइन् ।

दलित समुदायको हक अधिकार स्थापित गर्न दलित र गैरदलित समुदाय एक भएर जानुपर्ने संविधानले परिकल्पना गरेका कारण त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने राष्ट्रिय दलित पत्रकार संघका कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माले बताए ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विभेद नभए पनि दलित समुदाय जत्तिकै नेपालका तामाङ जातिहरु राज्यबाट पीडित भएको बताए । बल्लतल्ल उठ्दै गरेको तामाङ जातिले जस्तै दलित समुदाय पनि आत्मरक्षा र जातीय अधिकारका लागि लडिरहेकाले एक भएर जानुको विकल्प नरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!