संगालोखबर

विराटनगर । सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राहत शिक्षकहरु फेरि आन्दोलनमा उत्रने भएका छन् । नेपाल राहत शिक्षक कोशी प्रदेश समिति र नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति मोरङको शनिबार मोरङको बेलबारीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

बेलबारीको वेतना सिमसार क्षेत्रस्थित सभा हलमा कोशी प्रदेश अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, मोरङ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

दुई दशकदेखि राहत शिक्षकका रुपमा सामुदायिक विद्यालयहरूमा कार्यरत ४० हजार राहत शिक्षकलाई सरकारले बेवास्ता गर्दै आएको साथै पटकपटक आन्दोलन र सहमति भए पनि कार्यान्वयन नभएपछि आन्दोलन गर्नुपर्ने बाध्यता भएको उनीहरुको भनाइ छ ।

असार २८ र २९ गते काठमाडौँमा हुने छैठौं महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने तयारी गरेको केन्द्रीय सचिव डीपी ढुंगेलले जानकारी दिए । पेशागत स्थायित्वका लागि राहत शिक्षकहरू दुई दशकदेखि आन्दोलनमा होमिएको उनले बताए ।

कोशी प्रदेशमा करिब ६ हजार ५०० जना राहत शिक्षकहरू कार्यरत रहेको जनाइएको छ । मोरङमा मावि, निमावि र प्राविधिक तहमा गरी ९२९ जना राहत शिक्षक दुई दशकदेखि सामुदायिक विद्यालयमा कार्यरत रहेको ढुंगेलले बताए ।

पेशाको स्थायित्वको लागि पटकपटक स्थानीय तह, जिल्ला तह, प्रदेश तह तथा केन्द्रीय स्तरमा आन्दोलन गर्दै आए पनि सुनुवाइ नभएको शिक्षकहरुको भनाइ छ । संघीय शिक्षा ऐन–२०८० छिटोभन्दा छिटो संघीय संसदबाट पारित गरेर ४० हजार राहत शिक्षकको व्यवस्थापन गर्न सरकारसँग उनीहरुले आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!