संगालोखबर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ का डा. नेत्र तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका छन् । सरकारले उनीसहित विभिन्न ८ देशका लागि राजदूत सिफारिस गरेको हो ।

Advertisement

पार्टीको सामाजिक सेवा विभागका केन्द्रीय सचिव रहेका तिमिल्सिना नेकपा एमालेका तर्फबाट राजदूत सिफारिसमा परेका हुन् । उनी नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी पनि एमालेको कोटाबाट सिफारिस भएका हुन् ।

एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा. विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । यस्तै, पुष्पराज रन्जितकार स्पेन र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन् ।

सिफारिस भएका ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ रास्वपाको कोटाका हुन् । संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि सिफारिस भएकाहरुको राजदूतमा नियुक्ति हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!