संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८० का अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिसहित पुरस्कृत गरेको छ ।

कक्षा १ देखि १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो । शुक्रबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो । नमुना विकास कार्यक्रमअन्तर्गत विद्यालयको आन्तरिक स्रोतबाट छात्रवृत्ति वितरण गरिएको जनाइएको छ ।

Advertisement

कक्षा १ देखि १० सम्मका विद्यार्थी प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले दुई हजारका दरले छात्रवृत्ति प्राप्त गरेको विद्यालयका लेखा अधिकृत खेम घिमिरेले बताए ।

त्यसैगरी, कक्षा ११ र १२ मा अध्ययनरत् शिक्षा, वाणिज्य संकाय र विज्ञान संकायका प्रथम हुने विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

छात्रवृत्ति वितरण समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले विद्यार्थीहरूले पठनपाठनमा मेहनत गरेर उज्ज्वल भविष्य बनाउन आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खेमराज भट्टराई, सहायक प्रधानाध्यापक महेशकुमार गौतम, माध्यमिक शिक्षक नरेन्द्र न्यौपाने, राम गुरागाईँ लगायतले पोखरिया माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षामा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे ।

मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल पोखरिया माध्यमिक विद्यालयमा हाल ३ हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!