मोहन ढकाल/संगालोखबर

विराटनगर । संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम घटेपछि कोशी प्रदेशमा बजेटको आकार घटेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम रहेको बताए ।

Advertisement

उनले आगामी वर्षको बजेटमा पर्यटन र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘अन्य क्षेत्रलाई पनि बजेटले समेटेको छ । कृषिमा यसअघि अनुदान पर्याप्त भए पनि उत्पादन र बजारीकरण हुन सकेन । कृषिलाई पनि बजेटमा समाबेश गरेका छौँ । पर्यटन र पूर्वाधारलाई भने विशेष प्राथमिकता दिएको हो ।’

उनले कृषिमा अनुदान गएपनि उत्पादकत्व बढेको नपाइएपछि अनुदानलाई ब्याजमा दिने व्यवस्था गरेको उल्लेख गरे । कोशी प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

बजेटमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, कुल बजेटमा चालु खर्च ४१ प्रतिशत, पूँजीगत खर्च ४६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरण १३ प्रतिशत छ । चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि वित्तीय हस्तान्तरण २२ प्रतिशतले वृद्धि भएको छ ।

चालु खर्चमा संघीय अनुदान फिर्ता ३ अर्ब, कार्यक्रम खर्चमा ३ अर्ब २५ करोड, कृषि तथा अन्य अनुदानमा १ अर्ब २० करोड, सामाजिक सुरक्षा, सामाजिक सहायता, औषधी खरिद समेतमा १ अर्ब र तलबभत्ता, अनिवार्य दायित्व तथा प्रशासनिक खर्चमा ६ अर्ब २ करोड विनियोजन रहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!