मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगर–४ र ५ स्थित जामुनगाछीका बासिन्दाले फेरि ‘नेता बहिष्कार अभियान’ सञ्चालन गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि करिब ३ किलोमिटर हुलाकी सडकले पूर्णता नपाउँदा बिगतमा पनि उनीहरूले यस्तो अभियान सञ्चालन गरेका थिए ।

बारम्बार आश्वासन पाएर पनि सडक र अरु पूर्वाधार निर्माणमा ध्यान नदिइएको उनीहरूको भनाइ छ । अहिले स्थानीयले केही मागसहितको व्यानर सिटी सफारीमा लगाउन थालेका छन् ।

Advertisement

राजमार्ग पश्चिमलाई पनि महानगरको मापदण्ड अनुसार विकास गर्नुपर्ने नत्र महानगरले कर लिन बन्द गर्नुपर्ने उनीहरूको पहिलो माग छ । यस्तै, राजमार्ग पश्चिममा पनि समान रूपमा सरकारी कार्यालय ल्याउनुपर्ने र हुलाकी सडक तुरुन्त निर्माण गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।

स्थानीय उत्तम दाहाल भन्छन्, ‘राजमार्ग पश्चिममा पनि महानगरको मापदण्डअनुसार विकास हुनुपर्छ भन्ने हाम्रो माग हो । हामीले हाम्रा मागसहितको व्यानर सिटीमा समेत लगाउने अभियान सुरु गरेका छौँ ।’

विगतदेखि नै राजमार्ग पश्चिमको क्षेत्रलाई पछि पारिएको उनको भनाइ छ । राजमार्ग पश्चिम कुनै सरकारी कार्यालय नहुनु, वर्षौंदेखि सडक अलपत्र हुँदा आश्वासनबाहेक केही पाउन नसकेको उनले बताए ।

उनले भने, ‘हामीले महानगरको मापदण्डअनुसार कर मात्रै तिर्नुपर्ने हो र ? कि महानगरले कर लिन बन्द गर्नुपर्छ, हैन भने हामीलाई महानगरको मापदण्ड अनुसार विकास चाहिन्छ ।’

आफ्ना माग सम्बोधन नभए नेताहरूको फोटोसहितको ब्यानर लगाउने र नेता बहिष्कार अभियान चलाउने उनले बताए । वर्षा सुरु भएसँगै हिलाम्य भएको सडकमा अहिले दैनिकजसो दुर्घटनाका भइरहेका छन् । खाल्डामा पानी जमेका कारण केही दिनअघि सामान बोकेको सफारी पल्टिएको थियो ।

स्थानीयका अनुसार सो स्थानमा अहिले सवारी साधन आवत–जावतमा पनि समस्या हुने गरेको छ । सोही स्थानका सुमन तामाङ भन्छन्, ‘सफारी त दैनिकजसो पल्टिरहेकै हुन्छन् । अन्य सवारी आवत–जावतमा पनि समस्या भएको छ ।’ सुख्खामा धुलोले हैरान बनेका स्थानीय वर्षामा हिलोको मारमा परेका छन् । अब भने डुबानको पीरले पनि सताउन थालेको तामाङको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!