संगालोखबर

धनकुटा । नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा चौबिसे भूगोलबाट जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुलाई धनकुटाको चौबिसेमा स्वागत तथा सम्मान गरिएको छ । शनिबार नेकपा एमाले चौबिसे गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई स्वागत तथा सम्मानका साथै बधाई ज्ञापन गरिएको हो ।

Advertisement

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य शकुन्तला बस्नेतले अधिवेशनमा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको भन्दै कुनै खाले गुटबन्दी नभइ सामान्य प्रक्रिया भएकाले सबैले मिलेर अघि बढ्नुपर्ने बताइन् ।

यस्तै, अर्की केन्द्रीय सदस्य बिनादेवी राईले सबै पार्टी पंक्तिलाई जनताको सेवामा जुट्न आग्रह गरिन् । पार्टीको प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङले निर्वाचनमा प्रतिस्पर्धा गर्दा पक्ष, विपक्षमा लागेको भए पनि निर्वाचनपछि छानिएको टिम सबैको साझा भएको उल्लेख गरे ।

पार्टीका जिल्ला अध्यक्ष शिव आङ्लाले पार्टीलाई सफल बनाउने अभियानमा जुट्न सबैमा आग्रह गरे । सदस्यता नवीकरण र अधिवेशनमा मात्र केन्द्रित नभइ समग्र रुपमा पार्टीलाई एकताबद्ध र सबल बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी, पार्टीका जिल्ला उपाध्यक्ष चिन्तन तामाङले जनता धेरै सचेत भइसकेकाले अबका दिनमा गफ भन्दा पनि काम बढी गरेर देखाउनुपर्ने चुनौती रहेको बताए । यस्तै, सचिव पर्शुराम नेपालले अहिलेको आवश्यकता सदस्यता नवीकरण भएको भन्दै पालिका अधिवेशनमा केन्द्रित हुन आग्रह गरे । उपसचिव नैन विश्वकर्माले अबका दिनमा आपसी मनमुटाव केही भए सबै बिर्सिएर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताए ।

यस्तै, चौबिसे गाउँपालिका इन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य तिलक कार्कीले आफूहरु पार्टी सदस्यता विस्तार गर्न सक्रिय भएर लागिरहेको बताए । जिल्ला कमिटी प्रचार विभाग प्रमुख रबिन कटेलले अबका दिनमा विकासमा प्रतिस्पर्धा गर्दै जनताको मन जित्नुपर्नेमा जोड दिए ।

चौबिसे गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्ष जीवन कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!