संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे र वडा ८ को याम्फुदिनका दर्जनौं परिवार बाढीपहिरोका कारण प्रभावित बनेका छन् । वडा ८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङका अनुसार पहिरोका कारण थुप्रै घर जोखिममा परेका छन् ।

Advertisement

कतिपय बस्तीमा मास्तिरबाट झरेको पहिरोले क्षति पुर्याएको छ भने केही स्थानमा घरभन्दा तलतिर पहिरो जाँदा जोखिम बढेको उनले बताए । मामांखेका केही घरहरु पहिरोले पुरेको छ । स्थानीय गौरीमाया लिम्वू, भीममाया गुरुङ, ख्यालमान लिम्बू लगायतको घर पहिरोले क्षतिग्रस्त बनाएपछि उनीहरु छिमेकीकहाँ बसिरहेका छन् ।

यसैगरी, खेवाङका बस्तीहरुमा पनि पहिरोका कारण जोखिम बढेको छ । जोखिम प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

यसैबीच, प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मका गुल्मपति रबिन सिलवालका अनुसार टोली पुगेर उद्धारको काममा लाग्नेछ ।

मनसुन सुरु हुनासाथ बाढी पहिरोका कारण ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुगेको छ । चार दिनयता पहिरोमा परी पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय खोलाहरुमा आएको बाढीले केही काठे पुलहरु बगाएको जनाइएको छ । केही गाउँले घाइते भएका छन् । गाउँलेका थुप्रै चौपाया पनि पहिरोमा परी मरेका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!