धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो ।
कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा १ किलोमिटर कालोपत्रेको काम भइरहेको छ । त्यसपछि दोस्रो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुशेटारसम्म करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौलाले बताए ।
धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म करिब १ सय १२ किलोमिटर सडक निर्माणको ठेक्का पाएको रौता क्षमादेवी जेभी कम्पनीले कालोपत्रेको काम अघि बढाएको छ । गत वर्ष नै कालोपत्रेको काम गरिने भनिए पनि बजेट निकासा नहँदा काम रोकिएर ढिलो भएको आयोजना प्रमुख निरौलाले बताए ।
४ अर्ब १६ करोडमा कालोपत्रे गर्ने ठेक्का सम्झौता भएर काम भइरहेको उनले जानकारी दिए । पूर्वी पहाडी जिल्लाहरुलाई तराई र चीनसँग जोड्ने सबैभन्दा छोटो तमोर करिडोर सडक मानिन्छ । यो सडक कूल १ सय ५५ किलोमिटर लम्बाईको छ ।
मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले २ अर्ब ४० करोड र बाँकी रहेको सडकखण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरी काम भइरहेको हो । तमोर करिडोरअन्तर्गत धनकुटाको मूलघाट–पाँचथर खण्डमा यातायात साधन सञ्चालनमा भइरहेका छन् ।
धनकुटाको मूलघाटदेखि सुभाङसम्म २०६५ सालमा ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । हाल ४४ किलोमिटर सडक नाली निर्माणको काम सकिएको आयोजनाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।
काममा कुनै अवरोध नआए तोकिएको समयभित्रै फिदिमसम्म कालोपत्रे कार्य सकिने योजना रहेको अधिकारीले जानकारी दिए । यो वर्षभित्र ८० किलोमिटर र बाँकी आगामी वर्ष ३० किलोमिटर कालोपत्रेको काम सकिने उनको भनाइ छ ।