मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का रोशन साहले मंगलबार बेलुका प्रसूति गराउन पत्नीलाई विराटमा भर्ना गराएका थिए ।

मंगलबार राति नै अप्रेसन गरेर प्रसूति गराइएको थियो । बिहीबार बिहान शिशुको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । साहले डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको बताए ।

Advertisement

‘अप्रेसन गरेर बच्चा जन्मिएको थियो, उनले भने, ‘बच्चा सबै ठीक थियो । डाक्टरले पनि बच्चाको अवस्था राम्रो छ भनेका थिए । तर आज अस्पतालले मृत घोषणा गर्यो ।’ बच्चा स्वस्थ छ भनेपनि बच्चाको मृत्यु हुनुमा चिकित्सकको दोष रहेको उनले बताए । अस्पतालको कमजोरीका कारण बच्चाको मृत्यु भएको उनको भनाइ छ ।

‘अस्पतालले यहाँ सम्भव छैन भनेको भए अर्को अस्पताल लगिन्थ्यो, साहले थपे, ‘यहाँको लापरबाहीले यस्तो भएको हो । अस्पताल ठूलो भएर मात्र हुँदैन । भोलिका दिनमा अरुलाई यस्तो नहोस् भन्ने हो ।’

बच्चाको विषयमा सोधखोज गर्दा डाक्टरको रुखो बोलीले पनि आफू हैरानी भएको साहले बताए । यो विषयमा अस्पताल प्रशासनले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

साहका आफन्त प्रेम गुप्ताले अस्पतालले धेरै लापरबाही गर्ने गरेको बताए । उनले केही दिन अगाडिको आफ्नै घटना सम्झँदै भने, ‘यहाँ मेरो हातको अप्रेसन गर्न ४० दिन बस्नुपर्छ र दुईपटक अप्रेसन गर्नुपर्छ भनिएको थियो । तर अर्को ठाउँमा बुझ्दा त्यस्तो रहेनछ । अर्काे अस्पतालमा तीन दिनमै डिस्चार्ज दिइएको थियो ।’

बच्चाको मृत्यु के कारणले भयो भन्ने एकिन जानकारी समेत पाउन नसकेको उनको भनाइ छ । अस्पताल प्रशासनले भने लापरबाहीका कारण बच्चाको मृत्यु नभएको दाबी गरेको छ । तौल कम भएको र बच्चाको स्वाथ्यमा पनि विभिन्न समस्या देखिएका कारण बचाउन नसकिएको अस्पताल प्रशासन प्रमुख प्रमेशराज देवकोटाले बताए ।

अस्पताल र डाक्टरको कमजोरीका कारण मृत्यु भएको भन्ने लाग्छ भने सम्बन्धित निकायमा उजुरी गर्न पनि आफन्तलाई भनिएको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!