सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा समस्या भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले चौबिसे गाउँपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रमा उद्योगहरुको सम्भावना र अवसर विषयमा उद्यमीहरुसँग बुधबार अन्तरक्रिया गरिएको थियो । सहभागी उद्यमीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र बजारीकरणमा सहयोग गरिदिन मागसमेत गरे ।

कार्यक्रममा सहभागी मध्येकी उद्यमी रबिना लिम्बुले विभिन्न घरेलु वस्तु उत्पादन गर्ने गरेको तर बजारको समस्या रहेको बताइन् । उनले स्थानीय सरकार, विद्यालय र सरकारी कार्यालयमा स्थानीय उद्यमीले उत्पादन गरेका कपडा लगायतका वस्तु खपत गर्नका लागि स्थानीय सरकाले पहल गरिदिनुपर्ने भन्दै ध्यानाकर्षण गराइन् ।

विद्यालयमा प्रयोग गरिने रुमाल, टोपी र झोला लगायतका वस्तु पनि प्रयोग गरिदिए स्थानीयले रोजगार पाउने उनले बताइन् । त्यस्तै, सरकारी कार्यालयका कर्मचारीले लगाउने पोशाक पनि स्थानीय स्तरमै तयार पार्न दिनुपर्ने माग उद्यमीले गरेका थिए ।

कर्मचारीहरुको पोशाक बाहिर सिलाउने गरिएको भन्दै उद्यमी सन्देश सुनारले स्थानीय उद्यमीले उक्त पोशाक तयार गर्न पाए रोजगार थपिने बताए । सिलाईकटाईबाट निस्किएको ‘वेस्टेज’ वस्तु प्रयोगमा ल्याउन सके त्यसबाट राम्रो आम्दानी लिन सकिने पनि उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्यमीहरुले गरेका गुनासाहरुलाई विषेश ध्यान दिइने बताए । स्थानीयलाई कसरी उद्यमशील बनाउने भन्ने कुरा प्राथमिकतामा रहेको भन्दै उनले त्यसपछि कार्यान्वयनको कुरामा ध्यान दिइने जनाए ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले कार्यालयले वार्षिक रुपमा विभिन्न तालिमको आयोजना गर्दै आएको बताए । उनले पालिकामा कृषि उद्योग, उद्योग, सीपमूलक तालिममार्फत् व्यवसाय, उद्योग प्रवर्द्धन र प्रविधि हस्तान्तरण गर्र्दै आएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!