मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको पहिलाकै संरचनालाई पुनःनिर्माण गरेर सुविधासम्पन्न बनाइएको हो ।

सभागृहभित्र ४२० वटा सामान्य सिट बनाइएको छ भने १२ वटा ‘भीआइपी सिट’ निर्माण गरिएको छ । यस्तै, सभागृहमा मिडिया सेन्टर, थिएटर, भीआइपी कक्ष, मिटिङ हल, भीआइपी वेटिङ रुम, चेन्जिङ रुमलगायत सुविधा छन् ।

Advertisement

२०७८ बैशाखमा ठेक्का सम्झौता भएपछि समानान्तर जोशी, श्री ब्यन्कटेश जेभीले निर्माणको जिम्मा पाएको थियो । २० करोडको लागतमा पुनःनिर्माण गरिएको सभागृहमा अन्य विभिन्न संरचना समेत बनाइएका छन् ।

अहिले सभागृहभित्र रङ्ग लगाउने, सफा गर्नेलगायतका काम भइरहेका छन् । निर्माण कम्पनीले भने सूचना बोर्ड नराखी काम गरिरहेको छ । लामो समयदेखि सभागृह पुनःनिर्माणको काम भइरहेपनि कहिले सकिने हो भन्ने थाहा पाउन नसकेको स्थानीय बताउँछन् ।

सूचना बोर्ड नराखेका कारण कति लागतमा निर्माण भइरहेको छ, कसले निर्माण गरिरहेको हो, कहिले निर्माण सकिने हो भन्ने जानकारी पाउन आफूहरू बञ्चित भएको स्थानीय बताउँछन् ।

महानगरको योजना पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाका अनुसार पहिलाको वीरेन्द्र सभागृहलाई नै जस्ताको त्यस्तै जिर्णोद्वार गरिएको हो । उनले संगालोखबरसँग भने, ‘वीरेन्द्र सभागृहको कन्सेप्टलाई नबिगारी नयाँ रेट्रोफिटिङ गरेर बनाएको हो । यसैमा थप सुविधा विस्तार गरिएको छ ।’

सभागृहको पछाडि थप तीनवटा भवन निर्माण गरिएको जनाउँदै थापाले भवन अपाङ्गमैत्री बनाइएको बताए । पुनःर्निर्मित सभागृहको चाँडै उद्घाटन गरिने उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!