संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका डिल्लीराम खड्का गत जेठ २२ गते मृत अवस्थामा फेला परे । जनता माध्यमिक विद्यालय निगालेमा शिक्षक रहेका उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

Advertisement

तनावमा रहेको थाहा पाए पनि परिवारले तत्काल उनले त्यसो गर्नुको मुख्य कारण थाहा पाएन । पछि उनको पर्समा फेला परेको ‘सुसाइड नोट’ र डायरीमा लेखिएको विवरणले गाउँकै एकजना व्यक्तिबाट लगातार प्रताडित हुनु परेपछि आत्महत्याको बाटो रोज्नु परेको लेखिएको भेटियो ।

घटनाका बेला उनको घरमा एक छोरा र श्रीमती थिए । फार्मेसी पढेका जेठा छोरा सुमन खड्का सुनसरीको इटहरीस्थित मेडिकलमा काम गर्दै थिए । घटनापछि उनी घर आएर बुवाको काजकिरियामा परिवारसँगै बसिरहेका छन् ।

बुवाले गाउँकै व्यक्तिबाट ऋणको निहुँमा निकै मानसिक यातना खप्नुपरेको अवस्थाले गर्दा त्यस्तो बाटो रोजेको खुलस्त भएको सुमनले संगालोखबरलाई बताए । आफूहरुले न्याय पाउनुपर्छ भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनकुटामा निवेदन दिएको छ ।

सुमनका अनुसार सुसाइड नोट र डायरीमा भएका सबै कुरा उल्लेख गरी प्रहरीमा निवेदन दिइएको छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको जानकारी दिएको उनले बताए ।

सुसाइड नोटमा खड्काले गाउँकै नयान्द्रबहादुर थापा नामका व्यक्तिले आफूलाई तनाव दिएको उल्लेख गरेका छन् । खड्का तिनै थापाको जग्गामा रहेको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनापछि थापा भने गाउँबाट सम्पर्कविहीन बनेका छन् । उनले प्रयोग गर्ने मोबाइल फोन समेत ‘स्विच अफ’ छ । यस घटनाका सम्बन्धमा प्रतिक्रिया लिन पटक पटक उनीसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

यसैबीच, खड्काको परिवारले मंगलबार धनकुटामा पत्रकार सम्मेलन गरी न्याय पाउनुपर्ने माग गरेको छ । पटक पटक समस्यामा पारिएपछि गाउँमा बस्नै नसक्ने अवस्था सिर्जना हुँदा खड्काले मृत्यु रोज्न बाध्य भएको उनका ज्वाईं धनबहादुर थापाले उल्लेख गरे ।

गाउँमा नयान्द्रबहादुरको व्यवहारका कारण अरु पनि थुप्रै गाउँले प्रताडित भएको उनको भनाइ छ । खड्काको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनमा नयान्द्रबहादुरमाथि कारबाही गरिनुपर्ने माग परिवारको छ ।

पत्रकार सम्मेलनमा खड्काका ज्वाईं धनबहादुर, भान्जा ओमबहादुर कुँवर, भतिजा मिलन कार्की तथा छिमेकीहरु लिलम थापा, सन्तोष श्रेष्ठ, युकेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

मृतकले लेखेर छाडेको सुसाइड नोट (उनको पर्स र डायरीमा फेला परेको) जस्ताको तस्तै–

मेरा परिवार, आफन्त, नातागोता साथीभाइ, इष्टमित्र सबैका लागि…

खास कुरा के भने विगत २०७८ साल वैशाखदेखिको कुरा हो । हाम्रो गाउँघरको जमिन्दार भनौंदो ‘गोरे’ थापा खास नाम नयान्द्रबहादुर थापा उपनाम ‘गोल्छा’ भनेर यहाँदेखि नेपालभर चिनिनेसँग २०७८ साल वैशाखमा मैले बैंकको ऋण तिर्न नसक्दा मेरो काकाको नाममा रहेको २३–१२–०३ रोपनी र मेरा नाममा रहेको लगभग ५३ रोपनी जमिन लिन्छु, म ऋण सबै तिरिदिन्छु भने सहमति गरेर काकाको जग्गा मोरङको बबियाबिर्ताको ३ कट्ठा जग्गा दिन्छु भनी त्यति बेला नै पास गरी लिएको र मलाई चाहिँ आज भन्दै भोलि भन्दै ४ वर्षसम्म फकाइफुलाइ सानो निहुँ पारी जग्गा लिँदिन भनेर मेरो आफ्ना आफन्त सबैसँग नराम्रो पारी दिएको साथै ऋण दोब्बर पारी दिएको हुनाले मलाई मर्न बाध्य तुल्याएको ब्यहोरा सबैलाई अनुरोध गर्दछु । साथै यो लेखलाई ख्याल नसम्झनु होला ।

मेरा आफ्ना आफन्त सबैलाई सम्झँदै अन्तिम जानकारी गराउन चाहन्छु । यो काम कार्य गर्न मलाई बाध्य बनाउने नयान्द्रबहादुर थापा हो । ४ वर्ष अगाडि देखिको जग्गाको कारोबारमा धोका दिइ ऋण तिर्नको लाग बेचेको जग्गा, उल्टो ऋण दोब्बर बनाइदियो । र मेरा काकाको जग्गा सित्तैँमा पास गरी खाइदियो र मेरा आफ्ना आफन्त सबैलाई फसाइ मलाई गतिछाडा बनाइदिएको हुनाले अहिले आएर म आत्महत्या गर्न बाध्य भएँ । मलाई कसैले पनि गाली नगर्नुहोला । मेरा आफन्त, शुभचिन्तकहरु कसैले पनि योसँग कुनै पनि कारोबार नगर्नुहोला । यसले मलाई मर्न बाध्य बनायो । ..बाँकी मेरा सिरानीको डायरीमा ।

सो कारोबार मार्फत् मैले निजसँग काकाको जग्गा उकास्न–

नगद रु. १,५०,०००।–
नगद रु. ३,५०,०००।–
नगद रु. १,००,०००।–
पुरानो रु. ५०,०००।–
बाख्रा बोका ल्याएको रु. १,५०,०००।–
जम्मा रु. ८,००,०००।–

र, मसँग लगेको–
पाँचवटा बाख्रा
तीनवटा खसी
एउटा बोका

जग्गामा रुख काटेको रु. १०,००,०००।–

म मरे पनि भोलि अरुलाई पनि यसले यस्तै गरी मार्छ, त्यसैले मेरा आफ्ना आफन्त, इष्टमित्र, साथीभाइहरुले यसको छानबिन गरी छोड्नुहोला । अलबिदा ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!