
विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ परेका छन् ।
राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ रकमको स्रोत खुलाउन नसक्दा पक्राउ परेका हुन् ।
उनले ६ लाख ६५ हजार रुपैयाँ नगदको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । तामाङ साउन ३ गते पक्राउ परे पनि मोरङ प्रहरीले घटनाका बारेमा आज मात्रै जानकारी दिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका-९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला प्रहरीको नियन्त्रणमा परेका हुन् ।
प्रहरीका अनुसार उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक विवरण पेस गर्न नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । उनका अनुसार तामाङले रकमको स्रोत खुलाउन सकेका छैनन् । तामाङले रकमको स्रोत खुलाउन नसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको मोरङ प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको सम्पत्ति सम्बन्धी कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो । सम्भवतः अनुसन्धान प्रतिवेदन आज नै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

संगालोखबर 

















