संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता गर्न आग्रह गरेको हो ।

Advertisement

सहकारी संस्थाबाट सदस्यहरूकै बचत रकम कर्जाको रूपमा प्रवाह हुने भन्दै नगरपालिकाले ऋणी सदस्यहरूले अनेक बहानाबाजी गरी समयमै सावाँ र ब्याज नबुझाएको गुनासो आएपछि सूचना जारी गर्नुपरेको जनाएको छ ।

यस्तै, केही पक्षले सहकारीको ऋण तिर्नु नपर्ने भ्रामक र गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको गुनासो प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।

सहकारी संस्थाबाट ऋण लिएकाहरुले तोकिएको समयभित्र सावाँ ब्याज चुक्ता नगर्दा केही संस्थामा तरलताको समस्या भई सदस्यहरूको बचत फिर्ता गर्न नसकेको पाइएकाले त्यस्तो अवस्था नआओस् भनेर बचतकर्तालाई सचेत गराएको उनको भनाइ छ ।

धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६२ बमोजिम ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सकिने भएकाले ऋणीहरूलाई तोकिएको समयमा ऋण चुक्ता गर्न राईले आग्रह गरे ।

नगरपालिकाले सहकारीको नियमन गरिरहेको पनि उनले बताए । बचतकर्ताले ऋण नतिर्दा कतिपय सहकारीलाई बचतकर्ताको रकम फिर्ता गर्न समस्या भएकाले उनीहरुको रकम जोखिममा नपरोस् भनेर नगरपालिकाले काम गरिरहेको अधिकृत राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!