मोहन ढकाल/संगालोखबर

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा आइतवार सरकारी गाडीमा आगजनी गरेका छन् । केही गाडीमा उनीहरुले तोडफोड समेत गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा महेन्द्र मोरङ क्याम्पस अगाडि आगजनी गरेका हुन् । यसैगरी, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा उनीहरुले तोडफोड गरेका छन् ।

त्यहाँ आयोजित विद्युत प्राधिकरणको कार्यक्रममा सहभागी हुन पुगेकाहरु चढेर गएको गाडीमा तोडफोड भएको हो । प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ ।

गाडीमा आगजनी र तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोरङको रंगेलीमा पक्राउ परेका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ संघका सदस्य दीपक यादवलगायत विद्यार्थीलाई छाड्नुपर्ने माग राखेर विद्यार्थीहरु विरोधमा उत्रिएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरुको खोजी भइरहेको बताए ।

निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूको समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि बिहीबार दुर्व्यवहार गरेको थियो ।

त्यस क्रममा उनीहरुले चारजना नगर प्रहरीमाथि कुटपिट समेत गरेका थिए । कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै विद्यार्थीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!