संगालोखबर

विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षले उठाएका विषयमा आफू जवाफ दिन तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिजो पनि आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएको र भोलि पनि प्रतिपक्षले कुनै विषय उठाए त्यसको जवाफ दिने बताएका हुन् ।

Advertisement

देशको सूचना विदेशीलाई बेचेको भन्ने सन्दर्भको प्रश्नमा लामिछानेले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम नलिएको र कुनै पनि प्रकारको आरोप नलगाएको जिकिर गरे । सञ्चारमाध्यममा यस्ता कुराहरू आएका छन् मात्र भनेको तर कुनै दलको नेताको नाम आफूले नलिएको उनले उल्लेख गरे ।

बनावटी प्रश्नभन्दा पनि मन्त्रालयले तीन महिनाको अवधिमा गरेको काम तथा विपद् व्यवस्थापन लागि सरकारले गरिरहेको कामको बारेमा प्रश्न सोध्न उनले आग्रह गरे ।

गृहमन्त्री लामिछाने आज विराटनगरमा हुने कोशी प्रदेशको सुरक्षा बैठकमा सहभागी हुन आएका हुन् । अपराह्न सुरु हुने बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राष्ट्रिय अनुसन्धान लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु विराटनगर आएका छन् ।

बैठकमा कोशी प्रदेशका १४ वटै जिलाका सुरक्षाको अवस्था, सीमा क्षेत्रको अवस्था तथा चोरी निकासी नियन्त्रण थप प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!