संगालोखबर
फाइल तस्वीर

विराटनगर । देशका सातवटा प्रदेशमध्ये सबैभन्दा पछिल्लो पटक नामकरण भएको ‘कोशी प्रदेश’ नाम खारेजी गर्नुपर्ने माग फेरि उठ्न थालेको छ । प्रदेशसभाले तत्कालीन ‘प्रदेश नम्बर १’ लाई कोशी नामकरण गरेसँगै पहिचान पक्षधर संगठन र दलहरुले आपत्ति जनाउन थालेका थिए ।

उनीहरुले प्रदेशको नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग जोडतोडले उठाए । महिनौंसम्म आन्दोलन भयो । प्रदेश राजधानी विराटनगरकेन्द्रित आन्दोलनका क्रममा एकजनाको ज्यान समेत गयो । पछि सरकारसँग वार्ता भएर आन्दोलन मत्थर भयो । आन्दोलनलाई फरक किसिमले अघि बढाउन पहिचानवादीहरु सहमत भए ।

Advertisement

अब फेरि कोशी नाम खारेजी मात्र होइन प्रदेशको पुनःसंरचनाकै माग उठाइएको छ । मधेशवादी नेता राजेन्द्र महतोको नेतृत्वमा हालै गठित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले यस्तो माग उठाएको हो ।

गत शुक्रबार विराटनगरमा यही माग राख्दै उक्त संगठनले प्रदर्शन समेत गरेको थियो । प्रदर्शनका क्रममा आयोजित सभामा बोल्दै महतोले यस क्षेत्रका लिम्बु, खम्बु, कोचिला र मधेशका जनताले पहिचान मागेको उल्लेख गरे ।

संगठनले शान्तिपूर्ण आन्दोलन गर्दै ‘नेपाललाई सबै नेपालीको राज्य’ को रूपमा स्थापित गर्ने उनले बताए । विगतमा पहिचानवादीहरुलाई अनेक किसिमले राज्यले दमन गरेको र त्यही कारण आफूहरुको माग स्थापित हुन नसकेको उनको भनाइ थियो ।

अहिलेसम्म सातवटा संविधान बनेको भए पनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको दाबीसमेत महतोले गरे । आफूहरुले पहिचान र प्रदेश संरचना संशोधनको माग लिएर निरन्तर आन्दोलन गरिरहने पनि उनले बताए ।

प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । ९३ सदस्यीय प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले उक्त नाम पारित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!