विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बाल भेला सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
महानगरका १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताए ।
उनले तत्कालीन गाउँ विकास समिति बुधनगर र बैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बालमैत्री महानगर बनाउन समस्या भएको उल्लेख गरे । उपहानगरपालिका हुँदा बालमैत्री नगर घोषणा गरिए पनि ग्रामीण क्षेत्रलाई समेटेर महानगरपालिका बनाएपछि घोषणामा समस्या देखिएको मेयर कोइरालाको भनाइ थियो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बाल क्लबले देखिने गरी कार्य गर्न नसकेको भन्दै गुनासो गरे । वडाले बजेट छुट्याउँदा पनि वडास्तरको बाल क्लबले कुनै कार्यक्रम नगरेको उनको भनाइ थियो ।
महानगरको महिला बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले महानगरलाई बालमैत्री नगर बनाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिइन् । बालमैत्री नगर घोषणा गर्न आवश्यक पर्ने ५१ सूचकमध्ये केही सूचक पूरा गर्न अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो ।