संगालोखबर

जनकपुर । मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सिंहले १३ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Advertisement

मधेस सरकारमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै, नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास, राजकुमार लेखीले शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसैगरी, एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेलीले ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

नेपाल संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारीले गृह, सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरीले श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, जनमत पार्टीकी रञ्जु मण्डल खंग बिना विभागीय राज्यमन्त्री नियुक्त भएकी छन् ।

मधेस सरकारको नेतृत्वमा दाबी गर्न शुक्रबार बिहान १० बजे अन्तिम समय रहेकोमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंहले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिएकोमा बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!