संगालोखबर

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि शुक्रबार कुटपिट भएको छ । विद्यार्थीहरुको एक समूहले गरेको कुटपिटबाट चारजना नगर प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । कुटपिटबाट नगर प्रहरीहरू प्रमोद पासवान, सुनिता पौडेल, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

निजी विद्यालयले नियमविपरीत शुल्क लिइरहेको साथै शिक्षक छनोटमा मनपरी गरेको भन्दै नगरपालिका कार्यालय पुगेको समूहले नगर प्रहरीहरुमाथि कुटपिट गरेको जनाइएको छ । उक्त समूहले कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार समेत गरेको थियो ।

त्यस क्रममा नगरपालिकामा तोडफोड समेत गरिएको प्रहरीले जनाएको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै गत जेठ १३ गते विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका थिए । त्यसमा नगरपालिकाले चासो नदिएको भन्दै गुनासो गर्न पुगेको विद्यार्थी समूहले नगर प्रहरीहरुमाथि हातपात गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कुटपिटमा संलग्न रहेका ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । उनीहरूविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!