विराटनगर । मोरङको कानेपोखरीमा कारले ठक्कर दिंदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा बिहिवार राति भएको दुर्घटनामा अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बेलबारीबाट पथरीतर्फ आइरहेको मे १ च ३३६६ नम्बरको कारले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका मधेसी मूलका जस्तो देखिने ती व्यक्तिको शव मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।
कारका चालक झापाको मेचीनगर नगरपालिका–१० का ३० वर्षीय बिजयकुमार साहलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।