सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कनकाईले हात पारेको छ । बिहिवार भएको फाइनल खेलमा धनकुटालाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो ।

Advertisement

तल्लो टुँडिखेलमा भएको खेलको पहिलो हाफको २०औं मिनेटमा धनकुटाकी मनिता तामाङले गोल गर्दै खेललाई अग्रता दिलाइन् । दोस्रो हाफको पहिलो मिनेटमा झापाकी जेनिफर मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् । ९औं मिनेटमा जेनिफरले पुनः गोल गर्दै टिमलाई विजयी बनाइन् ।

सुरुवातदेखि नै विपक्षीलाई दबावमा राखेर खेलेको कनकाई उपाधिमा कब्जा जमाउन सफल भयो । घरेलु मैदानको राम्रो साथ पाएको धनकुटाले पटकपटक गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

विजेता टिम कनकाई नगरपालिकाले उपाधिसहित १ लाख रुपैयाँ हात पार्यो । उपविजेता धनकुटाले ५० हजार रुपैयाँमा चित्त बुझायो । खेलको बेस्ट डिफेन्स धनकुटाकी पूर्णिमा राई, बेस्ट मिडफिल्डर धनकुटाकी तीर्थ लिम्बु र बेस्ट फरवाड कनकाईकी समीक्षा मगर घोषित भए । उनीहरुले जनही नगद १ हजार ५ सयका दरले पुरस्कार पाए ।

त्यस्तै, बेस्ट गोलकिपर कनकाईकी रञ्जु राजवंशीले ३ हजार नगद र चाँदीको सिक्का पुरस्कार पाइन् । बेस्ट अफ द टुनामेन्ट घोषित हुँदै कनकाईकी जेनिफर रानामगरले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

विजेता टिम तथा खेलाडीहरुलाई संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेशसभा सदस्य लीला सुब्बा र सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष ईश्वर अकेला लगाउले पुरस्कार वितरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!