मोहन ढकाल/संगालोखबर


विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित गणेश गंगा मन्दिरका संस्थापक काशी गिरीले आफ्नो ज्यान जोखिममा परेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गिरीले आफूमाथि बारम्बार धाकधम्की र कुटपिट भएको भन्दै ज्यान जोखिममा परेको बताएका हुन् ।

गुठीको नाममा रहेको जग्गामा २०७१ सालमा आफ्नै खर्चमा मन्दिर निर्माण गरेको भएपनि अहिले आएर केही व्यक्तिहरूले आफूलाई हटाउन खोजेको उनले बताए ।

Advertisement

उनले मन्दिरमा भक्तजन र तीर्थयात्रीका लागि निःशुल्क खानाका साथै बास बस्नका लागि धर्मशाला निर्माण गरिरहेको बताए । सहयोग संकलन गरेर धर्मशाला निर्माण गरिरहेको भएपनि केही व्यक्तिका कारण आफ्नो ज्यान जोखिममा परेको उनले बताए ।

बराह संरक्षण समितिका सुजित राई, राजु भण्डारी, रमेश भण्डारी र नरबहादुर राईको समूहले बुधबार पनि आफूमाथि कुटपिट गरेको उनको भनाइ छ । उनीहरूका कारण साधुसन्तको ज्यान जोखिममा परेको भन्दै सहज बस्नका लागि वातावरण मिलाइदिन उनले आग्रह गरेका छन् ।

‘मसहित साधुसन्तको ज्यान खतरामा भएकाले शान्ति सुरक्षाको माग गर्दछु’, उनले भने, ‘जाँडरक्सी खाएर उनीहरूले अभद्र व्यवहार गर्छन् । मनपरी गाली गर्छन् । मन्दिर छेउमा जाँडरक्सी बिक्री वितरण हुँदा हामी साधुसन्तहरूलाई बस्न समस्या भएको छ । यसको नियन्त्रणका लागि सम्बन्धित निकायले पनि कुनै काम गरेको छैन ।’

परापूर्वकालमा दानमा आएको जग्गामा आफूले मन्दिर बनाएको भएपनि अहिले आएर उनीहरूले हालिमुहाली जमाएको उनको भनाइ छ । दुई महिना अगाडिदेखि आफूलाई लखेट्न खोजेको गिरीको गुनासो छ । पूर्ख्यौली सम्पत्ति बेचेर मन्दिर निर्माण गरेको र धर्मशाला निर्माणका लागि अहिलेसम्म १६ लाख ७६ हजार रकम संकलन गरिसकेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!