मोहन ढकाल/संगालोखबर

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा नेपाल प्रहरी तथा यातायात व्यवसायीबीच अन्तरक्रिया गरिएको हो ।

Advertisement

मोटर बीमाका विषयमा भएका ऐन कानुनबारे जानकारी गराउँदै सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्राधिकरणले जनाएको छ । अन्तरक्रियामा यातायात व्यवसायीहरूले बीमा भुक्तानीका लागि विभिन्न समस्या झेल्नु परेको बताए । यातायात व्यवसायी हरि थापाले संघ र प्रदेशको ऐन, कानुन फरक–फरक हुँदा बीमा भुक्तानीका लागि धेरै झन्झट ब्यहोर्न बाध्य हुनुपरेको बताए ।

बीमा कम्पनीहरूले अनेक दुःख दिएका कारण भुक्तानीमा समस्या भइरहेकाले यसको समाधानका लागि प्राधिकरणले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । नेपाल बीमा व्यवसाय समाजका अध्यक्ष खड्ग श्रेष्ठले नियमनकारी निकायले बनाएको ऐन, कानुनलाई आधार मानेर बीमा कम्पनीहरूले काम गर्ने गरेको बताए । बीमा कम्पनीहरूले दुर्घटना भएको अवस्था हेरेर कानुनअनुसार क्षतिपूर्ति दिने गरेको उनले बताए ।

साना र ठूला सवारी दुर्घटनाको हकमा भने केही समस्या रहेको र सम्बन्धित पक्षले यस विषयमा स्पष्ट ऐन ल्याउन आवश्यक भएको उनको भनाइ थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बीमा कम्पनीहरूले धेरै बदमासी गर्ने गरेका हुँदा यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले छलफलका क्रममा उठेका समस्याहरूलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताए । यातायात व्यवसायी, बीमा कम्पनी, बीमा प्राधिकरण वा प्रहरीमध्ये जसको कारणले बीमा भुक्तानीमा समस्या भए पनि आगामी दिनमा सुधार गर्दै लानुपर्ने बताए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जयराम सापकोटाले यातायात व्यवसायीलाई सवारी साधन चुस्तदुरुस्त राख्न र सवारी चालकलाई सचेत गराउन सुझाव दिए । प्रहरीलाई दोष लगाएर आफ्ना कमजोरीको ढाकछोप नगर्न उनले यातायात व्यवसायीहरूलाई आग्रह गरे ।

छलफलमा आएका गुनासा र सुझावलाई सम्बोधन गर्न प्राधिकरणले विशेष भूमिका खेल्ने बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले बताए । बीमा दाबी भुक्तानी नभएको भनेर प्राधिकरणमा चालु आर्थिक वर्षको हालसम्म ५२ वटा उजुरी परेको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!