संगालोखबर
फाइल तस्वीर

झापा । यो मनसुन अवधिमा सबैभन्दा बढी असर कोशी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशको पनि झापा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान छ । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ ।

समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

Advertisement

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको जनाइएको छ ।

मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेको जनाइएको छ ।

यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ ।

जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायत दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको प्रशासन कार्यालयले जनाएको छ ।

बाढीका कारण झापामा हरेक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । यसैगरी, ठूलो परिमाणमा भौतिक क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!