मोहन ढकाल/संगालोखबर

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमनगरस्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्याबमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट ल्याबमा भएका सम्पूर्ण उपकरणमा क्षति पुगेको छ । २०७४ सालबाट प्राविधिक धारमा पढाइ सुरु गरेको उक्त विद्यालयमा २०७६ सालमा कम्प्युटर ल्याब स्थापना भएको थियो । सोमबार राति एक्कासी ल्यावमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको विद्यालयले जनाएको छ ।

Advertisement

आगलागीबाट ३० थान कम्प्युटर सेट, २ थान ल्यापटप, ७५ इन्चको इन्टरएक्टीम बोर्ड १ थान, एसी २ थान, १ थान यूपीएस र १६ सेट लिथियम ब्याट्रीमा क्षति पुगेको छ । यस्तै पावर गार्ड सिस्टम १ थान, प्रोजेक्टर २ थान, प्रोजेक्टर स्क्रीन १ थान, कलर प्रिन्टर १ थान, सिसिटिभी क्यामेरा ६ थान, फर्निचरहरू लगायतमा क्षति भएको विद्यालयले जनाएको छ ।

आगलागीमा विद्यालयले ठूलो क्षति बेहोर्नु परेको प्रधानाध्यापक सूर्यनारायण महतोले बताए । विद्युतमा हाइभोल्टेज आउँदा आगलागी भएको उनको भनाइ छ । प्रधानाध्यापक महतोले संगालोखबरसँग भने, ‘आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । समयमै थाहा पाएर आगो नियन्त्रणमा लिन सकेका कारण थप क्षति हुनबाट जोगियो ।’

आगो करिब १ घण्टामा नियन्त्रणमा आएको थियो । विद्यालयको होस्टेलमा बस्ने विद्यार्थीले आगो लागेको थाहा पाएपछि चाँडै नियन्त्रणमा लिन सफल भएपनि ल्यावमा भएका सबै सामानमा क्षति पुगेको उनले बताए ।

बर्जु गाउँपालिका, प्रदेश सरकार लगायतका निकायले चाँडो पहल गरिदिए पुनः कम्प्युटर ल्याव चाँडो सञ्चालनमा आउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले बताए ।  आगलागीका कारण ल्यावमा भएका सम्पूर्ण सामग्रीमा क्षति पुग्दा प्राविधिक धारतर्फको पठन–पाठनमा समेत समस्या हुने हुँदा यस विषयमा सम्बन्धित निकायले तत्कालै ध्यान दिएर पुनः ल्याव सञ्चालनमा ल्याउन भूमिका खेलिदिन उनको आग्रह छ ।

सुनसरी क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रामदेव यादवले आगलागीका कारण विद्यालयमा भएको क्षतिको विषयमा संसदमा कुरा उठाएको बताए । उनले भने, ‘बर्जुकै नमुना विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । यसले प्राविधिक धार तर्फको पठन–पाठनमा समस्या हुने भएकाले तत्कालै ल्याव सञ्चालनमा पहल गर्ने छु ।’

बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले बर्जुको एक्लो नमुना विद्यालयको सबै ल्याव जलेर नष्ट हुनु दुःखद भएको बताए । गाउँपालिकाले यस विषयमा सम्बन्धित निकायमा पहल गरेर समाधानका लागि तत्कालै पहल गर्ने बताए ।  उनले भने, ‘गाउँपालिकासँग बजेट कम छ । प्रदेश सरकार मातहतका मन्त्रालयमा भोलि नै यस विषयमा जानकारी गराउने छु ।’ ल्यावमा पूर्णरूपले क्षति भएपछि प्राविधिक धार तर्फको पठन–पाठनमा समस्या हुने देखिएको छ ।

बर्जुकै नमुना विद्यालयका रूपमा परिचय बनाएको यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठन–पाठन हुँदै आएको छ । ९८४ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारमा पढाइ हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!