संगालोखबर

विराटनगर । संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् ।

Advertisement

कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच सहुलियत उपचारको सम्झौता भएको हो । त्यस क्रममा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालको पनि उपस्थिति थियो ।

सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट हुने जनाइएको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सिनामंगलस्थित केएमसी उपचारका लागि आउने क्रममा केएमसीकै एम्बुलेन्स प्रयोग गरिए एम्बुलेन्स शुल्क पनि पाँच सयमात्र गरिएको सांसद शर्माले जानकारी दिए ।

कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारसँग सहमति गर्ने निर्णय भएको उनले बताए ।

सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्तसम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात् आमा, बुबा, श्रीमान–श्रीमती, अविवाहित छोराछोरीलाई समेत केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलव्ध गराउने भएको छ । यो सुविधा लिन परिचयपत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने जनाइएको छ ।

उपचार सेवासम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले हस्पाक्षर गरेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए ।

त्यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए । डा. शर्माकै नेतृत्वमा केएमसी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपालदेखि पश्चिम नेपालको दुर्गम स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

शिविरमा उपचारको क्रममा रिफर भएका बिरामीहरुको केएमसी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था गरिएको छ । यस्तै, विभिन्न संघ संस्थाहरुसँग सम्झौता भई ती संस्थाहरुमा आवद्ध बिरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!