संगालोखबर

विराटनगर । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा ‘श्रमाधान रोजगार मेला’ सम्पन्न भएको छ । यस अवसरमा विराटनगरस्थित सिटी प्यालेसमा राखिएका स्टलको जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले अवलोकन गरेका छन् ।

Advertisement

दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए ।

मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् । मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरसहित स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सातवटा स्टल राखिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोेशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालबाट समुद्घाटन भएको थियो । त्यस्तै मेलामा श्रममन्त्री डोलप्रसाद अर्यालको पनि उपस्थिति थियो ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’ को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्याउने सबैलाई आयोजकका तर्फबाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!