मोहन ढकाल/संगालोखबर

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले नकारात्मक भाष्य हटाएर सकारात्मक भाष्य निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

Advertisement

‘यहाँ बसेर के हुन्छ भनेर राजनीतिक नेतृत्वलाई गाली गर्ने बानीको विकास भएको छ’, उनले भने, ‘यसलाई सुधार्न जरुरी छ । हामी सबैले नकारात्मक भाष्य हटाएर सकारात्मक भाष्य निर्माण गर्ने हो भने यहाँ सबैथोक हुन्छ ।’

नेपालमै रोजगारीको वातावरण सिर्जना गर्न धेरै काम गर्न सकिने उनको भनाइ थियो । उनले भने, ‘नेपाल सम्भावना भएको देश हो । तर पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने नकारात्मक भाष्य निर्माण भएको छ । यो दुःखद कुरा हो ।’

पर्यटन, कृषि, उद्योग, कलकारखाना लगायत हिसाबले नेपालमा रोजगारी सिर्जना हुने धेरै बाटाहरू रहेको उनले बताए । प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउन लागेको उनको भनाइ थियो ।

उनले एक लाख ‘रिटर्नी’ (विदेशबाट फर्केका) हरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत मुलुकभित्र रोजगारीका अवसर बृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको दाबी पनि गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय मान्छे विदेश पठाउने मन्त्रालय हो भन्ने सोचाइलाई चिर्दै हरेक दिन नयाँ सोचका साथ काम गरिरहेको बताए ।

उनले भने, ‘यही देशमा रोजगार सिर्जना गर्न सकिन्छ । यही सम्भावना छ भन्ने प्रचारप्रसारको कमी भयो ।’ देशमै कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सोचाइका साथ काम गरिरहेको उनले बताए ।

उनले भने, ‘देशका उद्योग, कलकारखानाहरूमा भारतीय कामदारको संख्या उच्च छ । नेपाली युवाहरू विदेशिन बाध्य छन् । त्यसकारण रोजगारदातासँग रोजगार खोजिरहेकाहरूको भेट गराउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।’ मेलाले रोजगारदाता र रोजगार खोज्नेबीच पुलको काम गर्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!