संगालोखबर

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया बिष्णुमाया बिष्टको हत्यामा संलग्न तथा विभिन्न तरिकाले सहयोग गर्नेसहित गरी प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गत वैशाख २६ गते बिहान बिष्टको हत्या भएको थियो ।

Advertisement

घरैमा बसिरहेका बेला टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनी हत्या घटनाका मुख्य आरोपी भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनका गहना लुट्न गंगाप्रसादलाई सघाउने स्थानीय २३ वर्षीय महेश राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै, चोरी गरेको सामान लुकाउन सहयोग गर्ने स्थानीय २१ वर्षीया बर्षा मुनदास राजवंशीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार चोरीको सुन बेच्न सहयोग गर्ने बिर्तामोड–४ का ३३ वर्षीय ज्याक भनिने भगरथ माझी तथा चोरीको गहना किन्ने अर्जुनधारा–६ का ४३ वर्षीय धनबहादुर कामीलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुको साथबाट हातमा लगाउने सुनको बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, सुनको सिक्री, कानमा लगाउने सुनको टप, चाँदीको कलश लगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली झापामा परिचालित गरी अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् । ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा अनुसन्धान गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!