मोहन ढकाल/संगालोखबर
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफूहरु अन्यायमा परेको गुनासो गर्दै पीडित ।

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगरप्रमुख दिलिपकुमार अग्रवाल र उपप्रमुख भुमा पराजुलीको दबाबमा आरोपितहरू पक्राउ नपरेको आरोप पीडितले लगाएका छन् । पक्राउ पूर्जी जारी भएको साता दिनसम्म पनि आरोपितहरु पक्राउ पर्न सकेका छैनन् ।

सरकारी कागजपत्र कीर्ते गरेर जग्गा र उद्योग कब्जा गर्न खोजेको आरोपमा गत जेठ ९ गते रंगेली–४ का वडाध्यक्षसहित १३ जनाविरुद्ध मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

Advertisement

तर अहिलेसम्म उनीहरूलाई पक्राउ नगरिएको पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमा गुनासो गरे । करिब ३ करोड पर्ने जग्गा र उद्योग कब्जा गर्न रंगेली नगरपालिका–४ का वडाध्यक्ष अवदेश मण्डलसहित १३ जनाले सरकारी काजगपत्र कीर्ते गरेको आरोप छ ।

पीडित रंगेली–७ का वीरेन्द्रकुमार साहले नगरप्रमुख अग्रवाल र उपप्रमुख पराजुलीको मिलेमतोमा आरोपितलाई पक्राउ नगरिएको आशंका व्यक्त गरेका छन् । सरकारी कागजपत्र कीर्ते गरेको आरोप उपप्रमुख पराजुलीका श्रीमान गणेश निरौलामाथि पनि लागेको छ । अहिलेसम्म प्रहरीले रंगेली नगरपालिका–४ का ३१ वर्षीय राजकिशोर साहलाई मात्र पक्राउ गरिएको पीडित साहको भनाइ छ ।

यसरी भएको थियो जग्गा पास

पीडित वीरेन्द्रकुमार साह बुबा रामप्रसाद साहका दुई श्रीमती मध्ये जेठी कलावती देवी साहका छोरा हुन । कान्छी कौशिला देवी साहका छोरा राजकिशोर साह हुन् । आरोपितमध्ये राजकिशोर पक्राउ परिसकेका छन् । रामप्रसाद साहको ७९ वर्षको उमेरमा २०७९ बैशाख ८ गते मृत्यु भयो । त्यसपछि अंशबण्डा हुनुपर्ने जग्गा एकलौटी बनाउन खेल सुरु भयो ।

बुबा रामप्रसाद साहको नाममा साबिक रंगेली–८ को नक्सा सिट नं. १७८०७१८ को कित्ता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा थियो । कान्छी पत्नीका छोरा राजकिशोरले काजकिरिया सकिएलगत्तै बुबाको मृृत्यु दर्ता बनाएर जग्गा एकलौटी बनाउन रंगेली–४ वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाएको देखिन्छ ।

त्यसपछि जेठीपट्टिका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छी तर्फका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएको देखिन्छ ।

५ फागुन २०७९ मा एकल अंशियार देखाए राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका पति गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धिरजकुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरेको देखिन्छ ।

त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मञ्जुरीमा आमा कौशिलादेवी साहको नाममा जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रंगेलीलाई वडाअध्यक्ष अवदेश मण्डलले सिफारिस बनाइदिएका थिए । वडाले दिएको उक्त सिफारिसको आधारमा मालपोत कार्यालय रंगेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी भएको थियो ।

‘आरोपितहरू तत्काल पक्राउ पर्नुपर्छ’

पीडित साह आरोपितहरूलाई तत्काल पक्राउ गरेर कानुन अनुसार कारबाही हुनुपर्ने बताउँछन् । जग्गा र उद्योग जेठी श्रीमतीलाई शबाइपास’ गरेर कान्छी श्रीमतीको नाममा ल्याउन रंगेली–४ का वडाअध्यक्ष मण्डलसहितले आर्थिक चलखेलमा यस्तो काम गरेको पीडित साहको आरोप छ ।

वडाअध्यक्षको अवैध कामलाई रंगेली नगरपालिकाका उपप्रमुख पराजुलीका श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएको उनले बताए ।

जेठी श्रीमती कलावती देवी साह र कान्छी कौशिला देवी साह तथा जेठीतर्फका छोरा वीरेन्द्रकुमार साह र कान्छीतर्फका छोरा राजकिशोरको नाममा सम्पत्ति भाग लाग्नुपर्नेमा कौशिलालाई सबै सम्पत्ति दिलाएर भाडबण्डा गर्ने प्रपञ्च भएको पीडित साहको भनाइ छ । वडादेखि नगरपालिका र मालपोतको मिलेमतोमा जग्गा कौशीलादेवी साहको नाममा नामसारी भइसकेको करिब १० महिनापछि मात्रै आफूले थाहा पाएको उनको भनाइ छ ।

उनले भने, ‘मलाई थाहा नदिइ कान्छी आमाको नाममा बाबुको सम्पत्ती लगिएको हो । जग्गा नामसारी भएको १० महिनापछि मात्र हामीले पत्तो पाएका हौं । त्यसपछि मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएर प्रहरीमा जाहेरी दिएका हौं ।’ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सो प्रकरणमा संलग्न वडाअध्यक्षसहित १३ जना सुरुमा फरार भएका थिए । वडाअध्यक्ष पनि केही दिन फरार भए । त्यपछि अहिले पावरको भरमा गाउँघरमा खुलेआम हिँड्ने गरेपनि पक्राउ नपरेका उनको भनाइ छ ।

उनले भने, ‘रंगेली नगरपालिका नगरप्रमुखको संरक्षणमा पक्राउ पूर्जी जारी भएका व्यक्ति वडाअध्यक्ष मण्डल पक्राउ नपरेका हुन् । पक्राउ नपर्दा हामीले न्याय नपाउने हो कि भन्ने अनुभूति भएको छ ।’ पक्राउ पूर्जी जारी भएको ७ दिन बितिसक्दा पनि एकजना मात्रै पक्राउ परेको र बाँकी १२ जना खुलेआम सार्वजानिक ठाउँमा हिँडडुल गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘कानुनी राज्यमा राज्य र राज्यका निकायहरू पीडितको पक्षमा हुनुपर्ने हो । तर अहिलेको काम कारबाही हेर्दा कताकता पीडित पक्षलाई न्याय दिन कुनै चासो नदेखाएको महशुस भएको छ ।’

पक्राउ पूर्जीमा उल्लेखित दुई व्यक्ति वडाअध्यक्ष र रंगेली नगरपालिका उपप्रमुखका श्रीमान् एमाले पार्टीका कार्यकर्ता भएको र एमाले पार्टी वर्तमान सरकारमा सामेल भएको कारणले गर्दा अहिलेको सरकारले प्रहरीलाई दबाव दिएको हो कि भन्ने आंशका रहेको उनको भनाइ छ ।

चाँडो आरोपीतिहरूलाई पक्रेर छानबिन गरी कानुनी कारबाही हुनुपर्ने पीडित साहले माग गरेका छन् । उनी भन्छन्, ‘घरपरिवारभित्र अंशबण्डा हुनुपर्ने जग्गा परिवारकै एक सदस्यको नाममा एकलौटी बनाएर आर्थिक लाभ लिएको प्रष्ट देखिएको छ । यसमा जनप्रतिनिधिको पनि संलग्नता हुनु गम्भीर विषय हो । यसको गहिरो अनुसन्धान हुनुपर्छ । दोषीहरुमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!