सन्तोष सुवेदी/संगालोखबर
दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न धनकुटा जिल्ला अस्पतालमा भेला भएका आफन्त र स्थानीय । तस्बिरः सन्तोष/संगालोखबर

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–४, पाथीभरा डाँडानजिक भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थाका चारजना घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

Advertisement

सिधुवाबाट मलामी लिएर त्रिवेणी घाटतर्फ जाँदै गरेको को १ त ९७३७ नम्बरको ट्याक्टर सोमबार अपराह्न दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भइ सडकभन्दा करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा छथरजोरपाटी–५ का ४५ वर्षीय वीरबहादुर खनालको मृत्यु भएको ट्राफिक प्रहरीका सई सुरेन्द्र खड्काले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा चालक स्थानीय २२ वर्षीय समीर लिम्बु, छथरजोरपाटी–४ का २७ वर्षीय नगेन्द्र थापा, ४३ वर्षीय अर्जुन थापा, ६५ वर्षीय थर्कबहादुर अधिकारी, ५० वर्षीय ध्रुवबहादुर अधिकारी, ४६ वर्षीय रेगिन्द्र अधिकारी, ७० वर्षीय भीमबहादुर काफ्लेलगायत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुबारे जानकारी आउन बाँकी छ । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!