सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक उपाधिनजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएकोे खेलमा आयोजकले घरेलु दर्शकको राम्रो साथ पाएको थियो ।

खेलको ३६औँ मिनेटमा राराका शिशिर लेखीले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा पाएको फ्री किक सदुपयोग गर्दै डाँगीहाटका सञ्जय श्रेष्ठले गोल फकाउँदा खेल बराबरीको अवस्थामा पुगेको थियो ।

Advertisement

खेलको पहिलो हाफ १–१ को बराबरीमा सकियो । ४८औँ मिनेटमा राराका विदेशी खेलाडी तायाले गोल गर्दै टीमलाई २–१ गोलको अग्रतामा दिलाएका थिए । खेलको १८औँ मिनटमा राराका नवयुग श्रेष्ठले हानेको बल गोल पोष्टमा लागेर बाहिरिएको थियो । ५९औँ र ८८ औँ मिनटमा डाँगीहाटले गोल गर्ने राम्रो अवसर गुमाउँदा पराजय भोग्नुपर्यो । खेलको म्यान अफ द म्याच घोषित हुँदै राराका छिरिङ गुरुङले ७ हजार रुपैयाँ पुरस्कार पाए ।

आयोजक राराले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेलमा मंगलबार बिर्तामोड युनाइटेड क्लब झापा र सिरहाको सलहेश युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो । विजेतालाई नगद ५ लाखसहित ट्रफी तथा उपविजेतालाई नगद २ लाख ५० हजार दिइने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!