संगालोखबर

विराटनगर । सरकारी कागज कीर्ते गरेर अंशबण्डाको जमिन एकलौटी पार्न सहयोग गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–४ का वडाध्यक्ष अभदेश मण्डलसति १३ जनालाई पक्राउको आदेश भएको छ ।

Advertisement

कीर्तेसम्बन्धी उजुरीका आधारमा जिल्ला अदालत मोरङले वडाअध्यक्ष मण्डलसहित १३ जनालाई पक्राउ गर्ने आदेश दिएको हो । एकलौटी अंश लिने प्रयास गर्ने राजकिशोर साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ आदेश पाएकाहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ आदेशको सूचीमा कीर्ते काममा साक्षी बसेका गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलालगायत छन् ।

रंगेली–४ आमतोलाका ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा उनकी जेठी पत्नीका छोरालाई बेवास्ता गर्दै कान्छी पत्नीको नाममा ल्याउन रंगेली–४ का वडाअध्यक्ष मण्डललाई प्रभावमा पारेर एकपक्षीय अंशियारका नाममा नामसारी गरेको जेठी तर्फका छोरा वीरेन्द्र साहले उजुरी गरेका थिए ।

प्रहरीका अनुसार रामप्रसादको २०७९ बैशाखमा मृत्यु भएको थियो । कान्छी पत्नीका छोरा राजकिशोरले बावुको काजकिरिया सकिएकै दिन एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले रंगेली–४ वडा कार्यालयबाट मृत्यु दर्ता गराएको पाइएको छ । जेठीपटिका छोरा वीरेन्द्रलाई ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छी तर्फका छोरा राजकिशोरले बावुको नाममा रहेको जग्गा आफ्नो नाममा पार्न सर्जमिन मुचुल्का बनाएका थिए ।

वडाले दिएको सिफारिसका आधरमा मालपोत कार्यालय रंगेलीले २०८० साल साउनमा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको पाइएको छ । कीर्ते गरिएको पाइएपछि वडाध्यक्ष मण्डलसहित १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप कीर्ते मुद्दामा जाहेरी दर्ता भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उजुरी दर्ता भएपछि अनुसन्धान सुरु गरिएको हो । फरार रहेकाहरुको खोजी भइरहेको उनले जनाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!