विश्व परिवेश पेचिलो बनेर चराहरू खस्न थालेका छन्
गन्तव्यमा पुग्नु अघि बाजको शिकार हुनु
लक्ष्य बल्छी बनेर निलो सागरमा अड्कनु
अक्सिजन फोक्सोमा पुग्न विर्सनु
च्याउ जस्ता मान्छेहरू उम्रनु र सानो सलाई काँटीले उधुम मचाउनु ।
ब्वाँसाहरू शहर पस्नु
एउटा मात्र पनि गाई नदेखिने गल्लीमा
होक्राँ होक्राँ कराउँदै
र नब्बे सालभन्दा अघिका घरका भित्तामा जुरो दल्नु
रण्डा लाउँने काठ नभेटेपछि घरका भित्ताहरूमा उत्तेजना पोख्नु
साँडेहरूको कर्म बनेको छ वर्तमान ।
के काम छ साँडेको शहरमा कसैले बुझ्न सकेको देखिन्न
भत्ता पचाउने अनेक खुफियाहरू धमिराको देवल उठाँउछन्
र गाउँबाट रोजगारी खोज्दै आएकी रम्तेल्नी भाउजूको
अनि भट्टराईनी बज्यूकोमा बिहानै हाँक दिएर उधारो चिया पिउनु
किराजस्ता सिलविल सिलविल खुफियाहरूको काम ।
होक्राँ बोकेर जुरो मर्काँउदै आँउछन् साँडेहरू
कलि छिप्पिए छ कि कसो ?
लाजले भुतुक्क बन्दै बुढी बज्युहरू
साँडेहरूले घरका भित्तामा रण्डा दलेको मजेत्रोले अनुहार छोपेर खसखुस गर्छन् ।
साँडेले आहारा आजकाल शहरमा कुकुरले जस्तै
नानीहरूको आच्ची ढलमिसिएको बागमतीतिर अलिअलि शिला खोज्नु
चपाउनु र उग्राउनु नपर्ने खान्की खान सिकेका छन्
क्लवमा पसेर साँडे गोरुहरू
साँडी गाई खोज्छन्
खै बिक्रमको २००७ सालदेखि यता साँडे गाई
नेपाल खाल्डोमा नछोडिएको कुरा गर्छन्
आचेजु र गुभाजुहरू
अनि भन्छन् कलि छिप्पिएकै हो
कलि साँच्चिकै छिपिएकै हो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!