दैवले नटार्ने हार !
धिपधिप छटपटाउँछ
निभ्न लागेको दियो
प्रचण्ड ज्वालामा दन्किँदै
खरानी बन्छ
आस्थाको सलेदो ।
लगभगको हिसाब !
स्याल जब घोर्ले हुन्छ
उ शहर पस्छ
भीडसँग निहुँ खोज्छ
हुइयाँमा सिङ नभेटिएपछि
प्राणको गुहार पनि मेटी जान्छ ।
हत्तपती थाहा हुँदैन !
खराब समयमा
खराब खुट्याउनै गाह्रो
असल छुट्याउनै गाह्रो
जब रजगज लठ्ठिन्छ
बुद्धिसँग विवेक छुट्टिजान्छ ।
भ्रमको पनि भ्रम !
भ्रममा बाँच्नेहरु
र, भ्रम बेच्नेहरु
दुबैको एउटै दोकान छ
जहाँ भ्रमको किनबेच
भ्रमकै भाउमा भइरहन्छ ।
करिब करिब उस्तै !
बादल रसाउनु अघि
छिचिमिराहरुले
पखेटा फटफटाएर
धर्तीलाई गिज्याउँछन्
र, मनाउँछन् मृत्यु उत्सव ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!