संगालोखबर

इलाम । इलाम सदरमुकाममा रहेको राणाकालीन दरबारमा अरनिको सांस्कृतिक संग्रहालय निर्माण भएपछि जातीय संस्कृति बुझ्न चाहनेहरुका लागि आकर्षणको केन्द्र बनेको छ । हाल संग्रहालय बनाइएको ‘इलाम दरबार’ मा लामो समयदेखि जिल्ला प्रशासन कार्यालय सञ्चालनमा थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि खाली बनेको संरचनालाई उपयोग गर्दै इलाम नगरपालिकाले संग्रहालय निर्माण गरेको हो ।

Advertisement

यसअघि इलामको माइस्थान मन्दिर हातामा उक्त सङ्ग्रहालय स्थापना गरिएको थियो । जङ्गबहादुर राणाका ज्वाइँ तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं. १९१९ मा इलाम दरबार निर्माण गरेका थिए । दरबार आफैँमा संग्रहालयको रुपमा थियो । त्यही भवनलाई प्रयोग गरेर जातीय पहिचान झल्काउने सामग्री राखिएकाले संग्रहालय उपयोगी बनेको स्थानीयको भनाइ छ ।

संग्रहालयमा विभिन्न जाति, समुदाय विशेषले प्रयोग गरेका सांस्कृतिक पहिचानका सामग्री संग्रह गरिएका छन् । यसले इलामको महत्व अझ बढाउने र बाहिरबाट आएका पर्यटकको इलाम बसाइ लम्ब्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

संग्रहालयमा इलाममा रहेका लोपोन्मुख लाप्चा जातिसहित विभिन्न जातिका पहिरन सहितका प्रतिमा राखिएका छन् । भवनमा २२ वटा कोठा छन् । संग्रहालय व्यवस्थापनको काम इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानले नगरपालिकाको आर्थिक सहयोगमा गरिरहेको प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको भनाइ छ ।

संग्रहालयमा राखिएका लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बाजागाजा, विभिन्न जातिका भेषभुषा, भाँडा वर्तन लगायतका सामग्रीले अवलोकनकर्ताको ध्यान आकर्षित गराउने गरेका छन् ।

यसैगरी, पूर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरुको संरक्षण गर्दै संग्रहालयमा सजाउन थालिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने तयारी भइरहेको छ ।

इलाम मिस्रित जातजाति र समुदायको बसोबास भएको जिल्ला हो । यहाँका मौलिक सांस्कृतिक पक्षहरुलाई समेटेर संरक्षण गर्दा त्यस्ता सामग्री मासिने जोखिम नहुने साथै पर्यटकहरुलाई अवलोकन गराउन सकिने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!