संगालोखबर
फाइल तस्वीर

विराटनगर । कोशी प्रदेशको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । उक्त कार्यालयले संघीय राजधानी काठमाडौंमा सार्वजनिक गरेको तथ्यांकअनुसार कोशी प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा धेरै ३२.८० प्रतिशत देखिएको छ । यस्तै, प्रशासनिक सेवा क्षेत्रको सबैभन्दा कम ०.३२ प्रतिशत रहने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

यस प्रदेशमा क्षेत्रगत वृद्धिदर हेर्दा सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको २२.३२ प्रतिशत र सबैभन्दा कम माइनस २.६७ प्रतिशत उत्पादनमूलक क्षेत्रको देखिएको छ ।

Advertisement

तथ्यांक कार्यालयका अनुसार नेपालका ७ प्रदेशमध्ये ६ को अर्थतन्त्र कृषिमा अधिक निर्भर रहेको पाइएको छ । कार्यालयको ‘प्रदेश लेखा तथ्यांक’ अनुसार बागमती प्रदेशबाहेक सबैमा कृषि क्षेत्रको योगदान सबैभन्दा माथि देखिएको छ । बागमती प्रदेशको अर्थतन्त्रमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ ।

मधेश प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै आधा देखिन्छ । चालु आवमा यो प्रदेशको अर्थतन्त्रको आकार ७ खर्ब ४८ अर्ब रहने अनुमान छ । आर्थिक वृद्धिदर ३.७८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ । मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७५ अर्ब रुपैयाँ बराबरको छ । चालु आव यो प्रदेशको आर्थिक वृद्धिदर ३.९६ प्रतिशत हुने जनाइएको छ ।

यस्तै, गण्डकी प्रदेशको अर्थतन्त्रको आकार ५ खर्ब १७ अर्ब छ । यो प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत छ । यो प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको सबैभन्दा धेरै २५.७२ प्रतिशत हिस्सा छ । लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चालु आवमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने भएको छ । यो प्रदेशले नेपालको जीडीपीमा १४.२६ प्रतिशत योगदान गर्छ ।

तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार कर्णाली प्रदेशले नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा ओगटेको छ । कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब बराबर पुगेको छ । यस वर्ष यो प्रदेशको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने भएको छ । यो प्रदेशले जीडीपीमा ४.२८ प्रतिशत योगदान गर्छ ।

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार ४ खर्ब ४ अर्ब बराबर पुगेको जनाइएको छ । यो प्रदेशले नेपालको अर्थतन्त्रमा ७.०९ प्रतिशत योगदान गर्छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने भएको छ ।

सात प्रदेशमध्ये कोशी तेस्रो धनी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!